२१ असार २०८३, आइतबार

काम नगर्ने ठेकदारलाई कारवाही हुन्छ : नेता पौडेल

कात्तिक ३०, २०७६
काम नगर्ने ठेकदारलाई कारवाही हुन्छ : नेता पौडेल

कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङदेखि घोडाबाँधे क्षेत्रको सडक अलपत्र पार्ने ठेकेदारलाई सरकारले कारवाही गर्ने चेतावनी दिएका छन् ।

वाम गठबन्धनले बडिगाड गाउँपालिका–२ दनियामा शनिवार आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै विकास आयोजनामा ढिला हुनुमा सरकार मात्रै दोषी नहुने भन्दै संघीय सांसद तथा नेकपा स्कूल विभागका उपप्रमुख समेत रहेका पौडेलले ठेकेदारलाई कानूनी कठघरामा उभ्याउन सरकार पछि नहट्ने बताए ।

अछेते घोडाबाँधे सडकको ठेक्का पाएको सूर्य कन्सट्रक्सन टाट पल्टिएपछि अहिले लोकमार्गको १२ किलोमिटर सडक अलपत्रजस्तै भएको छ । उनले देशको सार्वभौमिकता र सीमाका सन्दर्भमा विगतका आफ्ना नेताका भूमिकालाई हेर्न कांग्रेस कार्यकर्तालाई आग्रह गर्दै नेकपाप्रति भ्रम नफैलाउन चेतावनी दिए । उनले सरकारले कूटनीतिक माध्यमबाट सबै समस्या समाधान गर्ने बताए ।

वर्तमान सरकारले लोडसेडिङ अन्त्य गरेको, झण्डै ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको, सुरुङमार्ग शुरू गरेको भन्दै उनले दर्जन बढी कामको फेहरिस्त सुनाएका थिए । 

कार्यक्रममा वडाध्यक्षका प्रत्यासी ढालप्रसाद शेरचन (ढालेन्द्र) ले आफू निरन्तर समाज सेवामा लागेको र थप जिम्मेवारीसहित विकासका लागि केन्द्रीय पहुँचसहित काम गर्न आफ्नो उम्मेदवारी भएको भन्दै आफूलाई मत दिन मतदातालाई आह्वान गरेका थिए ।

कार्यक्रममा स्थानीय निकायको निर्वाचन विक्रम संवत् २०४९ र २०५४ मा कम्युनिस्टका तर्फबाट वडामा निर्वाचित वडाध्यक्ष तथा सदस्यलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि पौडेलले दोसल्ला ओढाएर सबैलाई सम्मान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्