२२ असार २०८३, सोमबार

प्रधानमन्त्रीका नयाँ प्रेस सल्लाहकार थापा भन्छन्– 'दिन मिल्ने सूचना जुनसुकै बेला उपलब्ध गराउँछु'

प्रधानमन्त्रीका नयाँ प्रेस सल्लाहकार थापा भन्छन्– 'दिन मिल्ने सूचना जुनसुकै बेला उपलब्ध गराउँछु'

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढंगले सूचना प्रवाह गर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीका कामलाई पारदर्शी ढंगले जनतासँग पुर्‍याउन आफूले सक्दो प्रयास गर्ने बताए ।

उनले आजैदेखि सल्लाहकारको कार्य थालनी गरेका छन् । थापाले सूचना प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर नराख्ने भन्दै जुनसुकै बेला पनि सञ्चारकर्मीसँग समन्वय गर्ने बताए ।

'प्रधानमन्त्रीसँग सम्बन्धित कुरा बाहिर ल्याउन कुनै कमि हुन दिइने छैन', उनले भने, 'प्रधानमन्त्री र सरकारका कामलाई जनतासमक्ष पुर्‍याउन सञ्चारकर्मीमार्फत अधिकतम कोशिश गर्नेछु ।'

सल्लाहकार थापाले प्रधानमन्त्रीसँग सम्बन्धित कुराको प्रेस विज्ञप्तिमार्फत सञ्चारमाध्यमलाई जानकारी गराउनेसमेत बताए ।

पारदर्शीतालाई जोड दिनेभन्दै उनले प्रधानमन्त्री र सरकारका जिम्मेदारीका कतिपय संवेदनशील कुरालाई भने सञ्चारकर्मीसँगको छलफलबाट समाधान गर्ने समेत बताए ।

थापाले अहिले सञ्चारमाध्यममा अतिरन्जित र गलत समाचार आउने समस्या रहेको भन्दै त्यस्ता समाचारलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

सरकारले राम्रो काम गर्दा स्यावासी र गलत काम गर्दा खबरदारी समेत गर्न उनले आग्रह गरे ।

सल्लाहकार थापाले सरकारका राम्रो कामको सम्प्रेषण नभएको भन्दै मन्त्रालयगत रुपमा एकीकृत ढंगले सबै मन्त्रालयका गतिविधिलाई सम्प्रेषणसमेत गरिने जानकारी गराए ।

भेटघाट कार्यक्रममा सञ्चारकर्मीले प्रधानमन्त्रीका गतिविधिलाई सहजरूपमा उपलब्ध गराउन आग्रह गरेका थिए ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट थापा प्रधानमन्त्री ओलीको प्रेस सल्लाहाकारमा नियुक्त भएका हुन् ।

उनलाई सरकारले राज्यमन्त्रीसरहको सुविधा प्रदान गरेको छ । यसअघि उनले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रूपमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुखसमेत रहेका थापा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य, नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादक समेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्