धादिङ, २५ चैत - मध्य धादिङको सिद्दलेक गाउँपालिका–१ चिसापानीमा ट्र्याक्टरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।
सामान ओसारपसार गर्दै रहेको ना५त ५११८ नं को ट्र्याक्टरले ठक्कर दिँदा सोही स्थानका आठ वर्षीया शान्ति भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिकाअन्तर्गत चालिसेमा माइक्रोबस र टिपर एकआपसमा ठोक्किएर भएको दुर्घटनामा १५ जना घाइते भएका छन् ।
इप्रका गजुरीका अनुसार काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना५ख ११७३ नं को माइक्रोबसलाई विपरीत दिशाबाट आएको ना५ख ९३१३ नं को टिपरले ठक्कर दिँदा माइक्रोबसका १५ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।