२२ असार २०८३, सोमबार

हिजो दिनभर : सागमा नेपालको 'धमाकेदार' प्रदर्शन, बाग्लुङमा भएको जीप दुर्घटनामा १४ जनाको मृत्यु

मंसिर १८, २०७६
हिजो दिनभर : सागमा नेपालको 'धमाकेदार' प्रदर्शन, बाग्लुङमा भएको जीप दुर्घटनामा १४ जनाको मृत्यु

सडकको दूरावस्था र पुराना सवारीका कारण दुर्घटना बढे : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाग्लुङमा भएको जीप दुर्घटना घटनाप्रति दुःख प्रकट गरेका छन्। गुल्मी सदरमुकाम तम्घासबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग १ ज ५२१९ जीप घोपर्नामा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो।

प्रचण्डले शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘उक्त दुर्घटनामा निधन हुनुभएकाहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछु ।’

देशका विभिन्न भागमा हुने सवारी दुर्घटनारु नेपाली सडकको दूरावस्था, पुराना सवारी साधनको प्रयोग र सवारी सञ्चालनमा देखिएको हेलचेक्राइ समेतका कारण रहेको प्रचण्डले उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आवश्यक पहलका लागि सम्बन्धित क्षेत्रको विशेष ध्यान जान जरुरी छ।’

फेरिए पाँच जिल्लाका सीडीओः को कहाँ ?

गृहमन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ। यो मन्त्रीस्तरीय निर्णय हो।
गृहमन्त्रालयका अनुसार  पर्साका सीडीओ नारायणप्रसाद भट्टराईको चितवन सरुवा भएको छ। चितवनमा रहेका जितेन्द्र बस्नेतको पर्सा सरुवा भएको छ। 

भक्तपुरका सीडीओ नारायणप्रसाद भट्टको मकवानपुरमा सरुवा हुँदा गृहमन्त्रालयकी सहसचिव हुमकला पाण्डे भक्तपुरको सीडीओ बनेकी छिन्।

यसैगरी, लमजुङका सिडिओ डिजन भट्टराई अध्यागमन विभागमा पुगेका छन्, भने अध्यागमन विभागका लक्ष्मणबहादुर खड्का लमजुङको सीडीओ बनेका छन्।


विद्युत् चुहावट घटाउने कुलमानको रणनीति
विद्युत् चुहवाट रोक्नु थप विद्युत् थप गरे जस्तै हो । यसमा अर्थतन्त्र जोडिएको हुन्छ । यही धारणालाई शिरोपर गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले परिणाम देखिने गरी देशव्यापी रुपमा नै चुहावट घटाएको छ ।

विशेषतः चुहावट प्राविधिक र गैरप्राविधिक हुने गरेको छ । प्राविधिक चुहावटमा प्रसारण लाइन, ट्रान्सफर्मर तथा विद्युत् गृहमा नै हुने चुहावट हो । गैर प्राविधिक चुहावटमा विद्युत् चोरी तथा अनाधिकृत प्रयोगलाई लिइन्छ । विद्युत् बचत गर्ने लक्ष्यका साथ प्राधिकरणले देशव्यापी रुपमा अभियानलाई निरन्तरता दिएको छ । सोही क्रममा प्रदेश नं २ का जिल्लामा समेत चुहावटलाई न्यून बिन्दुमा झार्ने लक्ष्यका साथ काम शुरु गरिएको प्राधिकरणको दाबी छ । 

कृष्णबहादुर महरालाई छुटाउन रोशनीले दिएको निवेदन दरपीठ, न्यायाधीशसमक्ष अर्काे निवेदन

पुर्पक्षका लागि थुनामा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई जेलबाट छुटाउन माग गर्दै यौन दुर्व्यवहार पीडित भनिएकी रोशनी शाहीले उच्च अदालत पाटनमा दिएको निवेदन दरपीठ भएको छ ।

महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भनेर जिल्ला अदालत काठमाडौंले दिएको आदेश बेठीक भएको र आदेश खारेज गर्न माग गर्दै रोशनीले उच्च अदालतमा निवेदन दिएकी थिइन् ।

रोशनीको निवेदन बेरीतको भएको भन्दै उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले दरपीठ गरेका छन् । 

गढीमाई मेलामा अहिलेसम्मकै बढी घुइँचो
बाराको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाईको मेलामा अहिलेसम्मकै सबै भन्दा बढी घुइँचो लागेको छ ।

नेपाल, भारत र सार्क राष्ट, दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका मन्दिरका मुख्य पूजारी मंगल चौधरीले बताए ।

मेलामा आउने करीब नौ बाटामा गाडी र पैदल हिँड्ने भक्तजनको उत्तिकै भीड रहेको महागढीमाई नगरपालिकाअन्तर्गत रहेको पतरहटीका सन्तोष यादवले जानकारी दिए ।

साग पुरुष फूटबलमा नेपालको विजयी शुरूवात, भुटानविरुद्ध ४–० को जीत

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को १३औं संस्करणअन्तर्गत पुरुष फूटबलमा नेपालले शानदार विजयी शुरूवात गरेको छ ।

दशरथ रंगशालामा मंगलवार सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले भुटानविरुद्ध ४–० को जीत दर्ता गरेको हो ।

नेपालको जितमा सुजल श्रेष्ठले २ तथा  अभिषेक रिजाल र मिक्चेन तामाङले १–१ गोल गरे । 

खेलको शुरूवाती ५औं मिनेटमा नै नेपालले अग्रता लिएको थियो । 

५औं मिनेटमा पहिलो गोल गरेका सुजलले ५०औं मिनेटमा अग्रता दोब्बर पारे । 

६५औं मिनेटमा अभिषेक रिजालले ३-० मा पुर्‍याएको अग्रतालाई फ्रिकिकमा गोल गर्दै डिफेन्डर मिक्चेन तामाङले ७७औं मिनेटमा ४–० को स्थितिमा पुर्‍याएका हुन् ।

प्रतियोगितामा नेपाल र भुटानका अलावा श्रीलंका, बंगलादेश र माल्दिभ्सको सहभागिता छ । 


घाइतेको उद्धारका लागि गोकर्ण विष्ट पुगे सेनाको हेलिकप्टर लिएर बाग्लुङ

बाग्लुङको बडिगाड गाउँपालिका–७ घोपर्नामा भएको जीप दुर्घटनाका घाइतेको उद्धारका लागि पूर्व मन्त्री गोकर्ण विष्ट बाग्लुङ पुगेका छन् ।

गुल्मीका सांसद समेत रहेका विष्टको पहलमा नेपाली सेनाको हेलिकप्टरले ३ जनाको उद्धार गरेको छ । दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

गुल्मीको इस्मा गाउँपालिकाबाट कूलपूजाको लागि बाग्लुङको देवीस्थान जाँदै गरेको जीप दुर्घटना भएपछि गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । पूर्व मन्त्री विष्टको पहलमा नेपाली सेनाको हेलिकप्टर बुर्तिबाङ पुगेर घाइतेको उद्धार गरी काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ ।

सागमा नेपालको 'धमाकेदार' प्रदर्शन, भारतले ७ स्वर्ण जित्दा नेपालको हातमा १९
तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल स्वर्ण पदक जित्नेमा नेपाल पहिलो स्थानमा रहेको छ । आइतवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि शुरू भएको सागको पदक तालिकामा नेपालले शुरूदेखि नै अग्रता लिइरहेको छ ।

सागले दिएको पछिल्लो पदक तालिका अनुसार नेपालले हालसम्म १९ स्वर्ण जितिसकेको छ भने ५ रजत र ९ कास्यपदक जितेको छ ।

तर यसअघिका खेलकुदमा पदक तालिकाको शीर्षस्थानमा देखिने भारतले भने तेस्रो दिनसम्म पनि नेपालले भन्दा तीनगुणा कम स्वर्ण जितेको छ । पदक तालिकामा भारत नेपालपछि दोस्रोमा रहेको छ ।

भारतले ७ स्वर्ण, १२ रजत र ४ कास्य गरी अहिलेसम्म २३ पदक मात्र जित्न सफल भएको छ ।

पदक तालिकाको तेस्रो स्थानमा श्रीलंका रहेको छ । ५ स्वर्ण, ४४ रजत र १८ कास्यसहित श्रीलंकाले ३४ पदक हात पारेको छ भने पाकिस्तानले २ स्वर्णसहित १४ पदक हात पार्न सफल भएको छ ।

बंगलादेशले जम्मा १ स्वर्ण जितेपनि १९ कास्यसहित जम्मा २३ पदक आफ्नो पोल्टामा पारेको छ ।

 पदक तालिकाको अन्तिममा रहेका माल्दिभ्स र भुटानले १/१ पदक जितेका छन् ।

१० वर्षभित्र नागरिक उड्डयन क्षेत्र आईकाओको मापदण्डमा : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी १० वर्षभित्र नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्डमा पुर्‍याइने बताएका छन् ।

चन्द्रगढी विमानस्थलको विस्तार तथा विकास गुरुयोजनाका सम्बन्धमा झापाको बिर्तामोडमा नागरिक उड्डयन प्राधिकरणले मंगलवार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउने तयारीका लागि अहिले मुलुकभरका विमानस्थलको स्तरोन्नति भइरहेको जानकारी दिए ।

उनले चन्द्रगढी विमानस्थललाई अत्याधुनिक ढंगले विकास र विस्तार गर्ने गुरुयोजनाको समर्थन गर्दै यसका लागि जग्गा अधिग्रहण गर्दा कसैले पनि विवाद निकाल्न नहुने धारणा राखे । ‘प्रधानमन्त्रीको गृहजिल्लाको एयरपोर्ट भएको कारण यसमा विशेष जोड हुन्छ,’ मन्त्री भट्टराईले भने, ‘फ्लाइट सेफ्टी र रन–वे विस्तारका लागि केही सरकारी र केही निजी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको रहेछ, यसमा सबैले आफ्ना ठाउँबाट सहयोग गरिदिन आग्रह गर्छु ।’

साग खेलकुद : कराँतेमा नविनले जिते स्वर्ण
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेमा नेपालका लागि नविन रसाइलीले स्वर्ण दिलाएका छन् ।

मंगलवार सातदोबाटोस्थित कराँते हलमा ६७ केजी कुमुतेमा नेपालका नविनले पाकिस्तानका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् ।

उनले पाकिस्तानी खेलाडी अहमेद नासिरलाई ८-६ अंकले पराजित गरेका हुन् । 

बाग्लुङस्थित मध्यपहाडी लोकमार्गबाट जीप खोलामा खस्यो : १४ जनाको मृत्यु, ३ घाइते
बाग्लुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ स्थित घोपर्नामा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

गुल्मी सदरमुकाम तम्घासबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग१ज ५२१९ जीप बडिगाड– ७ घोपर्ना भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

जीप मध्यपहाडी लोकमार्गबाट ५०० मिटर तल बडिगाड खोलामा खसेको छ ।
दुर्घटनामा परी एक बालकसहित १० पुरुष र ४ महिलाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

३ जना घाइते र १ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । 

लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ
प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले सोमबार साँझ जाँच गर्ने क्रममा पाँच केजी गाँजासहित भारतको दरभङ्गा जिल्ला शिवराम थाना–२ निवासी ३८ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो । 

यस्तै अभद्र व्यवहार मुद्दामा फरार एक महिलालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्