
१३ औं दक्षिण एसियाली खेलकुद (साग) २०७६ को कुस्ती प्रतियोगिताका लागि २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सम्पूर्ण तयारी पूरा भएको छ ।
मंसिर २० देखि २३ गतेसम्म आयोजन हुने कुस्ती प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सहित ५ देशका खेलाडी (खलिफा) ले भाग लिनेछन् । कुस्ती खेल्ने खेलाडीलाई पहलवान तथा खलिफा भन्ने गरिन्छ । कुस्ती खेल्ने ठाउँलाई ‘अखडा’ भनिन्छ ।
सागमा सहभागी हुने देशमध्ये माल्दिभ्स र भुटान सहभागी नहुने धनुषा जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख विनोद सिंहले बताए । महिला र पुरुष गरी छुट्टाछुट्टै टीम सहभागी हुने प्रतियोगितामा पाकिस्तानको तर्फबाट महिला टीम सहभागी हुने छैन । विभिन्न तौल समूहको चरणवद्ध १० वटा खेल हुने प्रतियोगिताको सबै बन्दोबस्त पूरा भएको छ । खेलाडीलाई जनकपुरदेखि महोत्तरीको बर्दिवासस्थित होटलमा राख्नका लागि कोठाहरू समेत बूक गरिसकिएको छ ।
खेलाडीलाई होटलदेखि खेलकुद आयोजन हुने स्थल धनुषा जिल्ला खेलकुद विकास समितिको कभर्ड हलसम्म आवतजावतका लागि नेपाल पर्यटन बोर्डले ५ वटा बस उपलब्ध गराएको छ । खेलाडीको सुरक्षादेखि प्रतियोगिता आयोजना हुने स्थलसम्म सुरक्षा प्रदान गर्न ६ सय ७५ जना नेपाल प्रहरी, ५ सय जना सशस्त्र प्रहरी तथा सादा पोशाकमा नेपाली सेना समेत परिचालन हुने सिंहले बताए ।
कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा हलभित्र सीमित संख्यामा मात्र दर्शकलाई अनुमति दिइएको छ । बाँकी दर्शकलाई खेल अवलोकनका लागि कभर्ड हल बाहिर तथा जनकपुरको जानकी मन्दिरमा एलईडी पर्दामा प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको उनले बताए ।
सांस्कृतिक कार्यक्रमको जिम्मा मिनापलाई
सिंहका अनुसार २० गते आयोजन हुने उद्घाटन समारोहका लागि भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्न मिथिला नाट्य कला परिषद् (मिनाप) जनकपुरसँग ७० हजार रुपैयाँमा सम्झौता गरिएको छ । मिनापका अध्यक्ष परमेश झाका अनुसार उद्घाटन सत्रमा मैथिली भाषामा लोक गीतसहित ५ वटा नृत्य प्रस्तुत गर्ने तयारी गरिएको छ ।
‘ईएह छि हमर जनकपुर’, ‘जय नेपाल जय नेपाल’, ‘सामा चकेवा’, ‘डोमकछ’ सहितको गीतमा नृत्य प्रस्तुत गर्ने तयारी गरिएको झाले बताए । ‘ती नृत्यमा पहिलेभन्दा केही नयाँपन दिने कोसिस गरेका छौं,’ झाले भने, ‘केही गीतमा नयाँ कम्पोज गरेका छौं भने केहीमा भने पुरानै ट्रयाक रेकर्डमा नृत्य प्रस्तुत गर्नेछौं ।’
करीब ३ सय वटा पोलमा सहभागी हुने सबै देशको झण्डा झुण्ड्याउने तथा जनकपुर शहरका विभिन्न स्थानमा प्रवेशद्वार बनाउने काम भइरहेको छ ।
राखेपले दियो ३० लाख
आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनकपुरधाममा हुन गइरहेको साग प्रतियोगिताको तयारीका लागि हालसम्म ३० लाख रुपैयाँ मात्र दिइएको सिंहले बताए । ‘हामीले पूरा तयारीका लागि ५६ लाख रुपैयाँको इस्टिमेट गरेर पठाएका थियौं,’ सिंहले भने, ‘हालसम्म ३० लाख रुपैयाँ मात्र पाएका छौं ।’
प्राप्त रकमबाट धनुषा जिल्ला खेलकुद विकास समितिको कभर्ड हलको ढलान, प्लास्टर, रंगरोगन लगायतको मम्र्मत सम्भारका कामहरू गरिएको उनले बताए । राखेपले खेलकुद आयोजन गर्नका लागि आवश्यक पर्ने ३ सेट म्याट समेत पठाइसकेको छ । चीन र भारतबाट राखेपले नै म्याट किनेर पठाएको उनले बताए ।
प्रधानमन्त्रीको रोजाइका कारण जनकपुरमा साग
काठमाडौंमा नै आयोजन हुने गरेको साग काठमाडौं बाहिर पोखरा र जनकपुरमा समेत आयोजन भइरहेको छ । कुस्ती खेल तराईमा नै गर्नुपर्ने र त्यसका लागि जनकपुर नै चयन हुनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार नै जनकपुर समेत छनोटमा परेको सिंहले बताए । जनकपुरमा तिरहुतिया गाछीमा नै आयोजन गर्ने भनेर राखेपका सदस्य सचिव रमेश सिलवाल, नेपाल कुस्ती संघका अध्यक्ष राज मोहम्मद अन्सारी, प्रशासकीय अधिकृत लभभक्त श्रेष्ठ, इन्जिनियर राजु श्रेष्ठले स्थलगत निरीक्षणका क्रममा तय गरेका थिए । टोलीले प्रदेश सरकारका प्रतिनिधि तथा जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साहसँग भेट गरेर तिरहुतिया गाछीमा आयोजन गर्न छलफल गरेका थिए तर समय अभावका कारण त्यहाँ हुन नसक्ने भएपछि कभर्ड हलमा छनोट गरिएको सिंहले बताए ।
यी हुन् नेपालका टोली
कुस्ती प्रतियोगितामा पुरुषतर्फ नेपालको तर्फबाट नरेश यादव, सरोज यादव, सुरेश चुनारा, बुन्नी लाल राउत अहिर, राज यादव, सुमिर कुमार साह, सागर कुमार यादवले कुस्ती खेल्नेछन् । महिलातर्फ मनिषा सिंह, सिबांगी दुबे, संगीता धामी, सुशीला चन्द, अम्बिका भण्डारी, कोमल खत्री र निर्मला जागरी खेल्नेछन् ।
पुरुषतर्फ सुरेश चुनारा (पश्चिम महेन्द्रनगर) बाहेक सबै खेलाडी २ नम्बर प्रदेशको बारा र पर्साका छन् । सबै महिला खेलाडी पश्चिम महेन्द्रनगरका छन् ।