
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चौथो कमिटी बैठकको दोस्रो दिन सोमवार अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल शुरू भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा जारी बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्नेछन् । आइतवारको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार गरेको प्रतिवेदन अध्यक्ष दाहालले प्रस्तुत गर्दै सरकार र पार्टी कामलाई प्रभावकारी बनाउन जोड दिएका थिए ।
प्रतिवेदनमा राष्ट्रिय र अन्तरराष्ट्रिय परिस्थिति, पार्टी एकताको सुदृढीकरण, सरकारका कामकारवाही र उपनिर्वाचनको समीक्षा, यसअघि सचिवालयले गरेका निर्णयको अनुमोदन र पार्टीको आगामी कार्ययोजनासम्बन्धी विषय उल्लेख छ ।
बैठकमा राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत विविध कार्यसूची निर्धारण गरिएको छ । बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावसमेत पेश गरेका थिए ।
प्रत्येक सदस्यलाई २० मिनेट बोल्न दिइने
स्थायी कमिटीको बैठकमा सदस्यहरूलाई बढीमा २० मिनेट बोल्न दिइने भएको छ । यसअघि १० मिनेट दिइएकोमा भीम रावल लगायत नेताहरूले समय कम भएको भन्दै आपत्ती जनाएका थिए ।
स्थायी समिति सदस्यहरूको असन्तुष्टिपछि बोल्ने अवधि १० मिनेट थपेर २० पुर्याइएको हो ।