
चोरीको आरोपपछि अर्जेन्टिनाका लागि मेक्सिकोका राजदूतले राजीनामा दिएका छन् । पुस्तक पसलबाट एउटा पुस्तक चोर्ने प्रयास गरेको भिडियो सार्वजनिक भएपछि ७७ वर्षीय रिकार्डो भलेरोले राजीनामा दिएका हुन् । तर, उनले स्वास्थ्यको कारण दर्साउँदै राजीनामा दिएको बताएका छन् । मेक्सिकोको विदेश मन्त्रालयले उनको राजीनामा सोमबार स्वीकार गरेको जनाएको छ ।
ब्युनस आयर्सको पुस्तक पसलबाट पैसा नतिरी एउटा किताब लग्दै गरेको सिसिटिभी फुटेजमा देखिएपछि मेक्सिको सरकारले भलेरोलाई यसै महिना फिर्ता बोलाएको थियो । पुस्तक काण्डपछि भलेरोले कूटनीतिक उन्मुक्तिका लागि अपिल गरेका थिए । उनलाई विमानस्थलको एउटा पसलबाट कमेज चोर्न खोजेको अर्को नयाँ आरोप पनि लागेको छ ।
अक्टोबरमा एल एटिनियो ग्रान्ड स्प्लेन्डिडबाट एउटा पुस्तक लिएर ढोकाबाट बाहिर निस्कनुअघि त्यसलाई एउटा पत्रिकामा बेरेर राखेको भिडियो सार्वजनिक भएपछि उनीबारे सर्वत्र चासो बढेको थियो ।
उनले चोरेको बताइएको पुस्तक १८औं शताब्दीका इटालीका लेखक, सिपाही र जासुस जिआकोमो कासानोभाको जीवनीमा आधारित छ । पुस्तकको मूल्य १० डलर पर्छ ।
त्यसपछि मेक्सिकोका लागि उड्नु केही घन्टाअघि उनले ब्युनस आयर्सस्थित विमानस्थलको एक पसलबाट कमेज चोरी गर्न खोजेको आरोप लागेको थियो । ‘रिकार्डो भलेरो महान् व्यक्ति हुन् । उनको हाल स्नायुसम्बन्धी उपचार भइरहेको छ । म उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु,’ मेक्सिकोका विदेशन्त्री मार्सेलो इब्रर्डले ट्विट गरेका छन् । ब्रेन ट्युमर भएर बाँच्न सफल भएपछि भलेरोको स्वभावलाई सन् २०१३ देखि नै चिकित्सकले निगरानी गर्दै आएका थिए । नयाँ पत्रिकामा खबर छ ।