पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
फिनल्याण्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्न मेरिनाले अहिले विश्वकै ध्यान खिचेकी छन् । किनकी उनी संसारकै कान्छी सरकार प्रमुख हुन् ।
उनी फिनल्याण्डकी निवर्तमान यातायात मन्त्री पनि हुन् । उनको चामत्कारिक राजनीतिक उदय विश्वका आम युवापंक्तिका लागि गतिलो पाठ पनि बनेको छ ।
नेतृत्वको निर्माण उमेर र अनुभवले खारिएर मात्र होइन, वर्तमान विश्वमा एजेन्डा, खोज र अनुसन्धानले हुन्छ भन्ने पुष्टि पनि गरेको छ । देशको यातायात मन्त्रालय सम्हाल्दा कामबाट प्रभाव पारेकी मेरिनालाई कार्यकारी जिम्मेवारीमा पुर्याउन अन्य दलको पनि साथ र सहयोग छ । यो हो उनले सानो उमेरमै आर्जन गरेको अनौठो बिश्वास र नेतृत्वदायी क्षमता । जुन उनको कामले स्थापित गरेको हो ।
युरोपको राजनीतिमा सान्ना जस्तै सानै उमेरमा उदाएका अन्य धेरै उदाहरण छन् । अर्की ताजा उदाहरण हुन् ४१ वर्षीया मेटी फ्रेडिक्सन । जो केही समयअघि मात्र डेनमार्कको प्रधानमन्त्रीमा निर्वाचित भइन् । डेनमार्कको हालसम्मको रेकर्डमा सबैभन्दा कम उमेरमा दोस्रो महिला प्रधानमन्त्री बनेकी फ्रेडिक्सन सोसल डेमोक्र्याट पार्टीकी नेतृ पनि हुन् । यो उदाहरणबाट राजनीतिमा लागेका नेपाली महिला र युवाले पनि केही सिक्न जरुरी छ ।
देशको कार्यकारी नेतृत्वमा पुग्न उमेर होइन योजना, आत्मविश्वास र प्रतिस्पर्धी क्षमता हुनुपर्छ भन्ने सन्देश उनको जीतले दिएको छ ।
सन् २०१७ अक्टोबरमा ३७ वर्षमै प्रधानमन्त्री भएकी जेसिन्डा अड्रेनले अहिले न्युजिल्याण्डको नेतृत्व गरिराखेकी छन् । पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयारको सल्लाहकारदेखि न्युजिल्याण्डकै पूर्व प्रधानमन्त्री हेलेन क्लार्कको अनुसन्धान अधिकारीको रुपमा अन्ुभव बटुलिसकेकी उनलाई ब्लेयार र क्लार्कसँगको सानिध्यताले पनि न्युजिल्याण्डको राजनीतिमा लाग्न थप उर्जा मिलेको बुझ्न सकिन्छ । युवा महिलाले हाँकिरहेका विश्वकै उदार राजनीतिक, सामाजिक व्यवस्था भएका यी देशमा नेतृत्वको यो स्थानमा पुग्न असल कर्म, प्रभावकारी भिजन र एजेन्डा विना कदापी सम्भव छैन । फिनल्याण्ड, डेनमार्क र न्युजिल्याण्ड विश्वमा अहिले खुशी र सुखी जनता बस्ने देशको रुपमा परिचित छन् । समानता, स्वतन्त्रता र समृद्धिको उच्च सूचकांकमा रहेका यी देशको नेतृत्वमा पुग्न महिला नेत्रीलाई सहज अवश्य थिएन ।
जनताको मन र मत जित्न फगत हाम्रोमा जस्तो भाषण र कोरा आश्वासनले मात्र पुग्दैन । किनकि यहाँका जनताको चेतनाको स्तर धेरैमाथि छ । अब के राजनीतिमा लागेका नेपाली युवाले पनि जनताको मन र मत भाषणले होइन, कर्मले जित्न सकिँदोरहेछ भन्ने सिक्न जरुरी छैन ? अवश्य छ ।
अर्कातर्फ प्रतिस्पर्धाको मैदानमा उत्रन कसैको आशिर्वाद पर्खेर बसेको भए वा स्वःस्फूर्त डटेर अगाडि आउन डराएको भए सान्ना, फ्रेडिक्सन र अड्रेनले आज चुनौती र अवसरको ऐतिहासिक जिम्मेवारी प्राप्त गर्ने थिएनन् । महिला मात्रै होइन, युवा पुरुष राजनीतिकर्मी पनि धेरै अगाडि छन् युरोपमा । वर्तमान फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनलाई हेरौं – जो सन् २०१७ मा ३९ वर्षमै शक्तिशाली फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भए । उनको यो जीतले राजनीतिको माथिल्लो स्थानमा पुग्न कपाल फुलाएको, जेलनेल भोगेको पात्र नै हुनुपर्छ भन्ने भ्रमलाई एक हदसम्म तोडिदिएको थियो भन्दा फरक पर्दैन । अर्काेतर्फ फ्रान्सको राजनीतिलाई लुइँ चौधौं, पन्धांैहरूकै सन्ततीको सम्पत्ति हो भनेर छोडिदिएका भए म्याक्रोनले आज फ्रान्सेली राज्य सत्ताको बागडोर सम्हाल्ने ठाउँमा पुग्ने अवसर पाउने थिएनन् ।
देशको परिस्थितिलाई नजरअन्दाज गरेर किनाराको साक्षी बनेर टुलुटुलु हेरिराखेको मात्र भए ४१ वर्षीया भ्लाद्यमिर जेलनस्की युक्रेनको राष्ट्रपतिमा अत्याधिक मतसहित निर्वाचित हुने थिएनन् । हस्तक्षेपकारी र नेतृत्वदायी सोचका कारणले नै हाँस्य कलाकार पृष्ठभू्मिका जेलनस्की त्यो स्थानमा पुग्न सफल भएका हुन् । राजनीतिमा जेलनस्कीको उदयले राजनीति गर्न विद्यार्थीकालदेखि नै आन्दोलनमा ढुंगा हानेको र सडकमा टायर बालेको पात्रा हुनुपर्छ भन्ने नेपाली मिथकलाई चुनौती दिएको छ ।
तर बिडम्बना नेपालमा कुनै नविन सोच र जोस नभएका पटक–पटक परीक्षा दिइसकेका उही पुराना पात्रलाई दलदेखि देशसम्म नेतृत्व मान्न अनि सुम्पन हामी विवश छौं । यसको कारण हुनसक्छ हाम्रा युवा राजनीतिकर्मीमा नेतृत्वका लागि चाहिने हस्तक्षेपकारी भूमिका र संघर्ष गर्ने साहसको कमी ! साहसको लागि चाहिन्छ पुरानाभन्दा फरक देखिन सक्ने खोज, अध्ययन, अनुसन्धान र एजेन्डा । जुन युरोपका ती नेतृत्वमा यहाँका जनताले देखे । युवा भएर मात्र होइन, एजेन्डा र कर्मले स्थापित हुनुपर्छ । वर्तमान विश्वमा जंगबहादुरको शैलीमा होइन, पहिला मन अनि मत जितेर नेतृत्व लिने हो ।
राजनीतिमा सक्रिय अहिलेका युवा उमेरमा मात्र होइन, विचार र व्यवहारमा पनि गतिशील बन्न जरुरी छ । व्यवस्था परिवर्तनका लागि शहीद बन्न तयार हुने नेपाली युवादस्ता आज बेथिति, कुशासन र भ्रष्टाचारको अगाडि भने किन नतमस्तक भएर बसिराखेका छन् ? किन गलत र कुकृत्यको पनि साक्षी बनेर हेर्न विवश छन् वा मतियार बनिराखेका छन् ? यस्ता एजेन्डामा जो खरो उत्रन सक्छ, त्यस्तो पात्रको नै आज नेपाली राजनीतिमा खाँचो छ । देश अनुसार एजेन्डा र योजना फरक–फरक हुन सक्छन् । अहिले राजनीतिमा आफ्नो र देशको भविष्य निर्माणको सपना देखेका युवापंक्तिले गलतलाई पनि सही भनेर नेतृत्वको अगाडि नतमस्तक भयो भने उसबाट भोलि देशको परिवर्तनको अपेक्षा गर्नु निरर्थक हुनेछ । भोलिको उज्यालो भविष्यको निर्माण वर्तमानको सुधारबाट मात्र सम्भव छ । यसका लागि संवाहक युवा नै हुनुपर्छ ।
अझ बिडम्बना त नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा कृष्णप्रसाद सिटौलाको विकल्पमा नेतृत्वमा अझै अर्का पात्रा देखिएकै छैनन् । अनि नेपाल कम्युनिष्ट पार्टीभित्र झन् अबको करीब २ दशकसम्मकै लागि करीब–करीब रोलक्रम निर्धारण भइसकेको छ । फेरि प्रचण्ड, केपी ओली, माधव नेपाल, बामदेव गौतम आदि–आदि । दुःखद पक्ष भनेको यी सबै पात्र पटक–पटक देशमा विभिन्न भूमिकामा परीक्षण भइसकेका छन् । नेतृत्व निर्माण र हस्तान्तरणको राजनीतिक संस्कार सिक्न नसकेका पुरानालाई नयाँले हस्तक्षेप गरेरै विस्थापित गर्नुको अब विकल्प देखिँदैन ।
अब फेरि उनीहरूकै आवश्यकता दल र देशमा केका लागि ? यसको पुष्टि नगरी, युवापिँढीले सहजै छोडिदिने र एक युवाले अर्काको खुट्टा तानिराख्ने हो भने यो शृंखलाको निरन्तरताको अन्त्य हुने छैन । हो, यसका लागि युवा जाग्नुपर्छ, फ्रन्टलाइनमा आउनुपर्छ । राजनीतिको सही रोडम्याप कोर्नदेखि सुशासन र सुसंस्कृत समाज निर्माणका लागि अब नेपालको परिप्रेक्ष्यमा युवाको विकल्प युवा नै हुनुपर्छ । राजनीतिप्रति बढ्दो वितृष्णाको न्यू्नीकरणका लागि पनि मेरिना, म्याक्रोन, जेसिन्डा र फ्रेडिक्सन जस्तै राजनीतिमा लागेका नेपाली युवा पनि स्वच्छ छवि निर्माण गर्दै प्रतिस्पर्धाको अग्रभागमा आउन जरुरी छ ।
अब राजनीतिक संस्कार कसरी सिक्ने ? ३४ वर्षीय सेबेस्टन क्रुजलाई हेरौं । अस्ट्रियाका निवर्तमान चान्सलर क्रुजले केही समयअघि मात्र एउटा आरोप लागेकै कारण पदबाट सहजै राजीनामा दिएर बाहिरिए । बेलायतका १ जना मन्त्री लर्ड वेटसले सदनको मिटिङमा पुग्न करीब २ मिनेट ढिला भएकै कारण आफ्नो गल्ती महसूस गरी ३१ जनवरी २०१८ मा पदबाट राजीनामा दिए तर उनको राजीनामा त्यही कारण कसैले मागेको थिएन ।
यस्ता जवाफदेहिता र जिम्मेवारीपनको उदाहरण त युरोपियन राजनीतिक संस्कारमा प्रशस्त भेट्न सकिन्छ, जुन नेपालमा भने अति बिरलै मात्र । अबको पुस्ताले नेपालमा पनि यस्तो उच्च नैतिकवान राजनीतिक संस्कारको विकास गर्न आवश्यक छ ।
सँगसँगै नेता छान्ने र नेता मान्ने शास्त्रीय अंकगणितको पनि अन्त्य हुन आवश्यक छ । जेल बसेको पात्रो पल्टाएर, वंशजको इतिहास हेरेर नेतृत्व छान्ने दक्षिण एसियाली प्रवृत्तिमा पनि पुनर्विचार गर्न जरुरी छ । अनि केही कुरा आर्जन गर्न परिश्रम गर्नुपर्छ भन्ने कुराको सोच युवामा जागृत हुन जरुरी छ, न कि राजनीतिलाई कमाइधन्दा बनाइयोस् । बरु युवाले अब इमान्दारिता, सुशासन र जवाफदेहिताका लागि जागरण ल्याउनुपर्छ, आफू पनि बदलिनुपर्छ, सँगसँगै अरुलाई पनि बदल्नुपर्छ ।
अहिले नेपालीले न पूर्खाको बिरताको वीरगाथा गाएर नै सम्मानित जीवन जीउन सक्छन्, न विगतको कमजोरीको पश्चाताप गरेर मात्रै उन्मुक्ति पाउँछन् । यो समय अहिलकोे युवापिँढीले पृथ्वीनारायण शाहको दिव्योपदेश घोकेर, अमरसिंह बलभद्र र भीमसेन थापाको वीरताको गाथा गाएर मात्र बस्ने बेला होइन । किनकि फकल्यान्डको टापुमा पुर्खाले देखाएको युद्ध कौशल र नालापानी कालापानीमा अंग्रेजहरूसँग अग्रजले राष्ट्रको निम्ति देखाएको वीरताको विगत भएकै आधारमा अरब र कतारको गर्मीमा पसिना बगाउनुपर्ने बाध्यताबाट वर्तमानको पुस्ताले मुक्ति पाउन सक्दैन । निकारगुवा र मेक्सीकोको जोखिमपूर्ण यात्रा गरेर अमेरिका छिर्ने युवाको ताँती पनि देशको राजनीति सुधारिएर समृद्धिको विश्वासिलो बाटो तयार नभएसम्म रोकिने छैन । त्यो सुधारको शुभारम्भ गर्ने जिम्मेवारी युवाकै काँधमा छ । त्यसैले व्यवस्था बदल्न य्ुवाले देखाएको जोश अब बेथिति बदल्न पनि देखाउनुपर्नेछ । तब मात्र डोल्पा र मुगुमा पनि, चितवनको चेपाङ बस्तीमा पनि परिवर्तनको ढोका खुलेको आभास हुनेछ । नत्र बदलिएको भनिएको यो व्यवस्था पनि विगतमा जस्तै हुँदा खानेका लागि होइन, हुने खानेका लागि मात्र भइरहनेछ ।
यसका लागि नेपालका युवा राजनीतिकर्मी म्याक्रोन र मेरिना जस्तै नै बन्नुपर्छ भन्ने होइन तर उनीहरूको सकारात्मक पाटोको अनुशरण गर्दै जागरुक हुन जरुरी छ । फ्रेडिक्सन र अड्रेन जो भाषणमा होइन, काममा विश्वास गर्छन्, आश्वासनमा होइन परिणाममा आनन्द लिन्छन् । जुन संस्कार उनीहरूले आफ्ना अग्रजबाट नै सिकिसकेका छन् । हो अंग्रेजले नसिकाएको र नदेखाएको राजनीतिको यो अप्ठ्यारो बाटो हिँड्न अबका युवा राजनीतिकर्मीले आइसब्रेक गर्न जरुरी छ ।
(लेखक अधिकारी हाल युरोपमा छन् ।)
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...