
नवलपुरको धार्मिक पर्यटकीय स्थल गैँडाकोटको मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालन गरिने भएको छ । मौलाकालिका केबुलकार प्रालिले स्थानीयसँगको सहकार्यमा केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको छ ।
मौलाकालिका फेदीमा रहेको गणेशमन्दिर नजिकैको क्षेत्रबाट केबुलकार लैजाने गरी सम्भाव्यता अध्ययन पूरा भएको गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी दिए । मौलाकालिकामा केबुलकार सञ्चालनका लागि सबै प्रक्रिया पूरा भएर मन्त्रालयमा फाइल पुगेको पौडेलले बताए ।
केबुलकार सञ्चालनका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको जनाइएको छ । मौलाकालिका केबुलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले धार्मिक पर्यटकलाई लक्षित गर्दै केबुलकार सञ्चालन गर्न लागिएको बताए ।
‘यो केबुलकार सञ्चालनका लागि स्थानीयसँग साझेदारी गरेर अगाडि बढ्ने तयारी गरेका छौँ,’ उनले भने, ‘स्थानीयलाई शेयर कति दिने भन्नेबारे छलफल भइरहेको भए पनि बढी शेयर हामीले राख्नेछौँ ।’
केबुलकार सञ्चालनको दूरी १२ सय मिटरको हुने भन्दै ढकालले त्यहाँ ६ वटा टावर राखिने जानकारी दिए । ज्येष्ठ नागरिकहरु मन्दिरमा दर्शन गर्न जाँदा कठिनाइ भोग्नुपरेको कारण उनीहरुको सहजताका लागि केबुलकार सञ्चालन गर्न लागेको ढकालले बताए । केबुलकार क्षेत्रमा चन्द्रगिरी हिल्स प्रालिपछिको दोस्रो आयोजनाको रुपमा मौलाकालिकामा केबुलकार सञ्चालन गर्न लागेको ढकालले बताए ।
उनले मौलाकालिका केबुलकारको काम शुरु भएपछि चाँडै नै बुटवल र पाल्पामा समेत केबुलकार निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए । गैँडाकोटबाट केबुलकार सञ्चालनमा आएपछि चितवन र देवघाटबाट समेत केबुलकारमार्फत मौलाकालिका मन्दिरमा जोड्नका लागि अध्ययन शुरु गरिने ढकालले बताए ।