
कवि शिरोमणि लेखनाथ पौड्यालको १३६आँंै जन्मजयन्ती प्रवचन कार्यक्रमको आयोजना गरी मनाइएको छ । प्रवचनमा वक्ताले नेपाली साहित्य क्षेत्रको उन्नयन र विकासमा पौड्यालले महत्वपूर्ण भूमिका खेलेको बताए । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भानुभक्त र मोतीरामपछि उदाएका पौड्यालले साहित्य क्षेत्रको विकासमा गतिप्रदान गर्न सफल भएको बताए।
'उबेला नै लेखनाथ पौड्यालले कविमन्दिरको अवधारणा ल्याउनुभएको थियो”, उहाँले भन्नुभयो, “नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना भएपछि उहाँको सपना साकार भयो,' उनले पौड्यालको आफ्नै छोराले बुबाको सम्झनामा साहित्य सदन निर्माण गर्नका लागि जग्गा नदिएपछि भीमराज पाण्डेको पहलमा सोह्रखुट्टेमा गुठीले जग्गा उपलब्ध गराउँदा लेखनाथ सदन निर्माण भएको जानकारी दिए। जोशीले राष्ट्र निर्माणमा साहित्यकारले खेलेको भूमिकालाई अवमूल्यन गर्न नहुने जिकिर गरे।
समालोचक डा वासुदेव त्रिपाठीले पौड्याल पुरानामध्येका नयाँ, अहिलेको पुस्ताका मार्गदर्शक कवि भन्दै उहाँको उपस्थितिले नेपाली कविताको क्षेत्रलाई समृद्ध बनाएको टिप्पणी गरे। 'कास्कीको विद्या परमम्पराले धेरै व्यक्तिलाई साहित्यकार बनाएको छ,' उनले भने, 'अन्नपूर्ण हिमालजस्तै सुन्दर कविता लेखेर पौड्यालले कास्कीको महिमा बढाउनमा भूमिका खेल्नुभएको छ ।''
वरिष्ठ पत्रकार भैरव रिसालले पौड्याल निकै चलाख र चातुर्य व्यक्ति भएको भन्दै उनीसँग विभिन्न समयमा अन्तरवार्तासमेत लिने अवसर जुरेको बताए। 'तत्कालीन राजा त्रिभुवनले कविताबाट प्रभावित भएर ‘कवि शिरोमणि’बाट सम्मान गर्नुभएको थियो,' रिसालले भने, 'उहाँले घरमा राखेका गोठालालाई समेत पढ्न पठाएपछि पुलिसमा भर्ती भई उनी इन्सपेक्टरबाट अवकाश लिएका थिए ।'
प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति जगतप्रसाद उपाध्यायले पौड्यालले लेखेका कविता नेपाली भाषा, साहित्यमा लालित्य र परिस्कृतिका हिसाबले अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रहेको दाबी गरे। 'तरुण तपस्वीलाई अङ्ग्रेजीमा अनुवाद गरेर बिक्रीवितरणमा लगेको भए मदन पुरस्कारसम्म हात पार्न सक्थ्यो होला भन्ने लाग्छ,' उनले भने, 'उहाँमा आध्यात्मिक र सर्वप्रणी भावना थियो ।' पौड्यालको विसं १९४१ पुस १५ गते जन्मी २०२२ साल फागुन ७ गते ८१ वर्षको उमेरमा निधनभएको थियो ।