
आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले भोलि शुक्रवार मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ ।
आयोगका प्रवक्ता तथा सहसचिव राजकुमार श्रेष्ठले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै बिहीवार नामावली प्रकाशन र दावी विरोधको उजुरी लिने कार्य सकिएको जनाएका छन् ।
निर्वाचनका लागि प्रदेश १, प्रदेश २, प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्रमशः निर्वाचन अधिकृतको कार्यालयहरू मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा नामावली प्रकाशनको प्रक्रिया अगाडि बढेको आयोगले जनाएको छ ।
बिहीवार बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन र ११ बजेदेखि अपराह्न ४ बजेसम्म प्रकाशित नामावली उपर दावी विरोधको उजुरी दिने कार्यक्रम सकिएको छ । शुक्रवार अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
देशभर ७ वटा प्रदेशका प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्पmका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५०६ गरी २ हजार ५६ जनाले निर्वाचनमा मतदान गर्ने जनाइएको छ ।