
काठमाडौँ महानगरपालिकाको सार्वजनिक शौचालयसँगै बस बिसौनी बनाउने भएको छ।
महानगरको ३९ औं कार्यपालिका बैठकले महानगरका पाँच वटा स्थानमा सार्वजनिक शौचालय बनाउने र ३८ वटा बस बिसौनी बनाउने निर्णय गरेको हो।
सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी, महानगरले नेपाल विद्युत प्राधिकरणले महानगरलाई तिनु पर्ने राजस्व र महानगरले प्राधिकरणलाई तिर्नुपर्ने बिजुलीको बक्यौताका बिषयमा अध्ययन गरी हिसाब मिलान गर्न सिफारिस गर्न समिति गठन गरेको छ। वडा ३ का अध्यक्ष दीपक केसीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको हो। समितिको सदस्यमा वडा ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा २३ का अध्यक्ष मचाराजा महर्जन, वडा २८ का अध्यक्ष भाइराम खड्गी र कार्यपालिका सदस्य कान्ता अधिकारी र पूर्वाधार विकास विभागका प्रमुख डा. उत्तरकुमार रेग्मी सदस्य सचिव छन्।
बैठकले धर्मपथमा ‘काठमाडौँ महानगरपालिका सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ऐन, २०७५’, बमोजिम कामको योजना शिफारिस गर्न वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ।
समितिको सदस्यमा वडा १७ का अध्यक्ष नबिन मानन्धर, वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्य, वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ र कार्यपालिका सदस्य रमिताकमल स्थापित छन् भने सदस्य सचिवमा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख ध्रुब काफ्ले छन्। महानगरको नगर सभा २९ पुसमा हुने भएको छ ।