
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसमा सभापति शेरबहादुर देउवा रहिरहे विवाद कायम रहने र अर्को चुनावमा पार्टीको जीत शून्यमा झर्ने बताएकी छिन् ।
बुटवलमा नेपाल प्रेस युनियन रूपन्देहीले बुटवलमा बोल्दै उनले पार्टीभित्र भइरहेको विवादले पार्टीको लोकप्रियता गुम्दै गएको बताइन् ।
‘पार्टीको विवाद र झगडा देखेर त मलाई पनि अर्को चुनावमा भोट हाल्दा मेरो हात काप्छ जस्तो लाग्न थालिसक्यो,’ उनले पार्टीको विवादप्रति असन्तुष्टि व्यक्त गर्दै भनिन्, ‘म पार्टीमा यति समय लागें, त्यत्रो मानेको नेता गिरिजाप्रसाद कोईरालाको छोरी, मलाई नै कांग्रेसको शैलीप्रति चित्त बुझेको छैन, जनतालाई कसरी चित्त बुझ्छ होला ?’
उनले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टी कमजोर बनिरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । ‘सभापतिले आफूलाई मात्रै हेर्ने हो कि पूरा पार्टी र जनताको फाइदा हेर्नुपर्यो नि, सधैभरि आफ्नै फाइदा हेरेर पार्टी बन्दैन,’ उनले भनिन्, ‘यसरी हुँदैन, पार्टी बनाउने हो भने सबैलाई मिलाएर अघि बढ्नुपर्छ ।’
उनले पार्टीमा भइरहेको विवादका कारण आफू निष्क्रिय हुँदै गएको बताइन् । उनले निर्मला हत्याकाण्डमा सरकारको लापरबाही देखिएको भन्दै यो विषयमा आवाज उठाएर दोषीलाई कारबाही गराउन दबाब दिनुपर्ने बताइन् ।
‘हाम्रो देशमा महिलाहरू असुरक्षित हुने अवस्था आउन दिनु हुँदैन, निर्मलाको हत्यारालाई कारबाही गर्न नसक्ने, किन यस्तो भयो म त छि थु भन्छु, यस्ता मान्छेलाई जोगाउनु हुँदैन, फाँसी दिनुपर्छ,’ आक्रोशित हुँदै उनले भनिन् ।