
मानव सेवा आश्रम बूढानीलकण्ठमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठको आयोजना तथा चिरायु अस्पताल वसुन्धराको सहयोगमा बूढानीलकण्ठ नगरपालिका–१ तौलुङमा रहेको मानव सेवा आश्रमको संरक्षणमा रहेका आश्रित तथा स्थानीयलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
प्रभागका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र गिरीले आश्रममा रहेका ६० र स्थानीय २० जनालाई निःशुल्क उपचार तथा औषधि वितरण गरिएको जानकारी दिए ।
‘मानव सेवा नै धर्म भएकाले प्रहरी समुदाय साझेदारी कार्यक्रमअन्तर्गत उक्त स्वास्थ्य शिविर सञ्चालन गरेका हौं,’ उनले भने ।
शिविरमा हाडजोर्नी, नसासम्बन्धी, बाथ, श्वासप्रश्वास, दम, खोकी लगायतका सेवाको उपचार गरिएको थियो । प्रभागले हरेक महिना विभिन्न संघसंस्थाको सहकार्यमा यस्ता कार्यक्रम सञ्चालन गर्ने गिरीले बताए ।