
१३ वर्षीय कमल माझी हरेक बिहान चार बज्दा नबज्दै उठिसक्छन् । स्कुल जाने र पढ्ने लेख्ने उमेरका उनी स्कुल जान र लेखपढ गर्न यसरी बिहान उठेका भने होइनन् । उनलाई इँटा उद्योगले झिसमिसेमै उठ्न बाध्य पारेको हो । रामेछापबाट बाबुको साथ लागेर भक्तपुर आएका कमलको दैनिकी माटोबाट सुरु हुन्छ र माटोमै सकिन्छ । केही महिनायता पुसको चिसोले ढाडिएको माटो खेलाउनु उनको दैनिकी बनेको छ । उनी बिहानैदेखि माटोलाई चौकोस (इँटा बनाउने साँचो) मा राख्छन्, र इँटा पार्छन् । उनका बाबु हर्कबहादुर भन्छन्, ‘ पोहोर पनि आएको थियो, तर काम गर्न थालेको यही सालबाट हो ।’
छोरालाई स्कुल पठाउने रहर हर्कबहादुरमा पनि छ । तर, कमलले नै स्कुल जान नमानेको उनी बताउँछन् । सिन्धुलीको धमिलेकी लक्ष्मी माझी अहिले ३१ वर्षकी भइन् । उनले पनि १३ वर्षकै उमेरदेखि इँटा बनाउने काम थालेकी हुन् । बुबाआमाको साथ लागेर भक्तपुरको इँटाभट्टामा आउँदा उनी १३ वर्षकी थिइन् । त्यसपछि हरेक वर्ष ६ महिनाजति भक्तपुरमै बिताउने गरेको बताइन् । उनले भनिन्, ‘गाउँमा स्कुल पनि थियो, तर दुई छाक टार्ने उपाय थिएन, कलिलै उमेरमा भट्टामा काम गर्न आउनुप-यो ।’ उनले भट्टामै काम गर्ने रामेछापका झलक माझीसँग विवाह पनि गरिन् ।
अहिले उनीहरूका दुईवर्षे छोरा पनि भट्टामै छन् र उनलाई भट्टानजिकैको शिशु हेरचाह केन्द्रमा राखेको झलकले बताए । कमल र लक्ष्मीले काम गर्ने चाँगुनारायण नगरपालिका–३ झौखेलको कुमारीमाता फिक्स इँटा उद्योगको बाहिर लेखिएको छ, ‘उपत्यकाकै पहिलो बालश्रममुक्त इँटा उद्योगमा यहाँलाई स्वागत छ ।’ तर, भट्टामा अहिले पनि कमलजस्तै बालबालिका इँटा पार्ने, इँटा बोक्ने, लहर मिलाउने काम गरिरहेका छन् । कुमारीमाता फिक्स इँटा उद्योगमा मात्रै होइन भक्तपुरका सबैजसो इँटाभट्टामा बालबालिका भेटिन्छन् ।
व्यवसायीले लिखित सम्झौता टेरेनन्
सरकारले इँटा उद्योगमा बालबालिकाको प्रयोग नगर्न निर्देशन दिए पनि अझै इँटा उद्योग बालश्रममुक्त हुन सकेको छैन । सरकारको निर्देशनलाई व्यवसायीले अटेर गरिरहेका छन् । बालश्रम ऐन,२०५६ को परिच्छेद २ मा १४ वर्ष नपुगेका बालबालिकालाई कुनै पनि प्रकारको श्रम गराउन नपाइने उल्लेख छ । सरकार र इँटा व्यवसायीबीच बालश्रम उन्मूलनबारे लिखित सम्झौता नै भएको छ । सम्झौतालगत्तै व्यवसायीले उद्योगलाई बालश्रममुक्त घोषणा पनि गरे । तर, सम्झौता कार्यान्वयन भएको छैन ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका एक सय आठ इँटा उद्योगमध्ये भक्तपुरमा मात्रै ६३ छन् । इँटा उद्योगलाई बालश्रममुक्त बनाउन स्थानीय तहका बाल संरक्षण समिति, जिल्ला बालकल्याण समिति र विभिन्न दातृ निकायले अघिल्लो वर्षदेखि केही प्रयास गरिरहेका छन् । अहिलेसम्म सूर्यविनायक नगरपालिकाका १२ र चाँगुनारायाण नगरपालिकाका तीन गरी १५ वटा उद्योगलाई बालश्रममुक्त घोषणा भएका छन् । तर, भट्टामा नियमित अनुगमन हुन नसक्दा बालश्रम रोकिएको छैन । बरु, बालबालिकालाई उमेर, नाम र ठेगाना ढाँट्न लगाएर काममा लगाउने गरिएको छ । नयाँ पत्रिकामा खबर छ ।