
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गायिका आस्था राउतले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको घटनाको सत्यतथ्य छानबिन र दोषिमाथि कारवाहीका लागि विमानस्थल प्रहरीले महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा उजुरीसहितको प्रतिवेदन पठाएको छ ।
दैनिक काम गर्ने क्रममा अनाहकमा गालीगलौज गरेको अन्तर्रारिष्ट्रय विमानस्थलमा भएको भिडियो फूटेजसहित प्रतिवेदन बुझाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रामकृपाल साहले बताए ।
एसएसपी शाहले लोकान्तरसँग भने, ‘हामीले भिडियो फूटेज र प्रतिवेदनसहित मेट्रोमा बुझाएका छौं,’ एसएसपी शाहले थपे, ‘अभद्र व्यवहार गरे तलका प्रहरी कर्मचारीले कसरी काम गर्ने ? उनीहरूको मनोबल उच्च राख्नका लागि पनि आफ्नो सम्बन्धित नियकायमा सत्यतथ्यसहित कारवाही गरी पाउँ भन्दै प्रतिवेदन दिएका हौं ।’
घटनाको सत्यतथ्य छानबिन र दोषिमाथि कारवाही होस् भनी महानगरीय प्रहरी कार्यलयमा उजुरी प्राप्त भएको महानगरीय प्रहरी कार्यलयका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।