
रेमिट्यान्सले लय समात्ने आशा पलाएको छ। चालु आर्थिक वर्षको दोस्रो महिनादेखि लगातार घटेको रेमिट्यान्स पाँचौ महिनामा पुग्दा सुधार देखिएको हो।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँचाैँ महिना (मंसिर) मा पुग्दा ३ खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो रेमिट्यान्स गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ०.१ प्रतिशतले बढी हो।
रेमिट्यान्समा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले कमी आएको थियो। सो अवधिमा ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
असोजमा पनि रेमिट्यान्स घटेको थियो। सो महिनामा पुग्दा ४.९ प्रतिशतले घटेर २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। भदौमा ०.३ प्रतिशतले घटेर १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ मात्र रेमिट्यान्स भित्रिएको थियो।
राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ११.८ प्रतिशतले बढेको छ।