
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुलीको घ्याङलेख गाउँपालिकाका एक जना इञ्जिनीयरलाई घुससहित पक्राउ गरेको छ।
गाउँपालिकाको विद्युत् विस्तार गर्ने क्रममा उपभोक्तासँग पैसा मागेपछि इञ्जिनीयर दिलीपकुमार शाहलाई शाहलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ।
शुक्रबार बेलुका सिन्धुलीमाढीमा शाहले मागेको रकम लिने क्रममा स्टलबजार नजिक बिपी राजमार्गबाट शाहलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका मधुकुमार थापाले जानकारी दिए।
शाहले विद्युत् विस्तार गर्ने उपभोक्ता समितिसँग दुई लाख २६ हजार मागेकामा उपभोक्ता समितिबाट चेक र नगद लिँदै गर्दा पक्राउ परेका हुन्। उनको साथबाट कृषि विकास बैंकको ७० हजारको चेक, सिटिजन बैंकको एक लाख ६० हजारको चेक र स्रोत नखुलेको ३५ हजार रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।