अन्तर्राष्ट्रिय समुदायको चेतावनी र प्रतिबन्धका बाबजुद उत्तर कोरियाले गत सोमवार चारवटा ब्यालिस्टिक क्षेप्यास्त्र सी अफ जापानमा प्रहार ग–यो । दक्षिण कोरिया र अमेरिकाको वार्षिक संयुक्त सैन्य अभ्यासको तयारीको प्रतिक्रियास्वरूप उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । यसैलाई आधार बनाएर अमेरिकाले दक्षिण कोरियामा क्षेप्यास्त्र सुरक्षा प्रणाली थाड जडान गरेको छ । थाडको जडानले चीन (अनि रुस)को चिन्ता बढेको छ किनकि त्यसको बहानामा अमेरिकाले ती दुई देशविरुद्ध जासूसी गर्न सक्ने उनीहरूको आँकलन छ । रणनीतिक रूपमा कोरियामा अमेरिकाको प्राविधिक उपस्थितिले छिमेकी मुलुकलाई समस्यामा पार्ने अनुमान स्वाभाविक नै हो ।
क्षेप्यास्त्र प्रहारपछि उत्तर कोरियाले जापानमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरेको प्रतिक्रिया दिएको छ । अनि जापानले यो कदममाथिको प्रतिक्रियाका रूपमा आफ्नो शान्तिवादी नीति त्याग्दै उत्तर कोरियामाथि पहिलो प्रहारको माग राखेको छ । अनि अमेरिकाले पनि सबै विकल्प खुल्ला रहेको बताउँदै उत्तर कोरियाले कुनै कारवाही गर्नुअघि नै उसमाथि आक्रमण गरेर उसका मिसाइलहरू ध्वस्त पार्ने विकल्प समेत खुल्ला रहेको बताएको छ ।
उत्तर कोरियासँग सीमा जोडिएको चीनलाई भने पछिल्लो घटनाक्रमले ठूलै चिन्ता दिएको छ । त्यसैले उसले कोरियाली प्रायद्वीपमा बढ्दै गरेको तनावलाई मत्थर पार्न भरमग्दुर प्रयास गरिरहेको छ । उसले दुवै पक्षलाई संयम अपनाउन अनुरोध गर्दै अमेरिकाले सैनिक अभ्यास रोक्नुपर्ने तथा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण बन्द गर्नुपर्ने बताएको छ । चीनका विदेशमन्त्री वाङ यीले चिनियाँ कंग्रेसको सम्मेलनका दौरान यो माग गरेका भएपनि दुवै पक्षले यसमा कुनै चासो देखाएका छैनन् ।
दुवै पक्ष आआफ्नै अडानमा कायम रहेकाले प्रायद्वीपमा तनाव बढ्ने नै लक्षण देखिएको छ । सबभन्दा ठूलो कुरा त दुई ठूला महाशक्ति चीन र रुसका लागि रणनीतिक रूपमा संवेदनशील क्षेत्रमा अमेरिकाको उपस्थितिले चिन्ता जन्माएको छ । चीन र रुसको साझेदारीलाई तोड्न खोज्ने अमेरिकी विदेशनीति रहेकोमा अहिलेको संकटले दुई देश झनै नजिकिने सम्भावना पनि उत्तिकै छ । तर उत्तर कोरियालाई तह लगाउन दुवैलाई गाह्रै देखिन्छ ।
कोरियाली प्रायद्वीप पहिलेदेखि नै चीनको टाउकोदुखाइ रहिआएको छ । त्यहाँ स्थिरता र शान्ति होस् भन्ने चीनको चाहना छ । दुई कोरियाबीच एकता होस् अनि प्रायद्वीप स्थिर र आणविक हतियाररहित होस् भन्ने चीनको मनसाय हो । तर कथंकदाचित् कोरियाको एकीकरण भयो भने पनि अमेरिकाले त्यहाँ खेल्ने मौका नपाओस् भन्ने चीन चाहन्छ ।
हुन त अहिलेको स्थिति पनि एकप्रकारले चीनको हितमै देखिन्छ । चीनले उत्तर कोरियालाई अमेरिका तथा उसका सहयोगीहरूविरुद्धको ‘बफर जोन’का रूपमा लिएको छ । त्यसैले सारा संसारले प्रतिबन्ध लगाएपनि चीनले उत्तर कोरियासँग व्यापार कायम राखिरहेको हो, भलै ट्रम्पको गुनासोको जवाफमा चीनले केही दिनअघि उत्तर कोरियाबाट कोइला आयातमा प्रतिबन्ध लगाएको होस् ।
उत्तर कोरियाली आणविक परीक्षणरूपी उट्पट्याङ गतिविधि गरेर अमेरिकालाई संवेदनशील क्षेत्रमा निम्त्याएकोमा चीन चिढिएको छ । केही गरी उत्तर कोरियाको पतन भयो भने लाखौंको संख्यामा त्यहाँका जनता चीनमा पस्न सक्ने उसलाई भय छ । मध्यपूर्वको संकटका कारण युरोपमा शरणार्थी थुप्रिएर समस्या निम्तिए जस्तो स्थिति आफूकहाँ आइपर्ला भनी चीन त्रस्त छ । अनि उत्तर कोरियामाथि विजय हासिल गरेर आफूले चाहेमुताबिकको सरकार अमेरिकाले स्थापना गरिदियो भने चीनको भूभागमा रहेका कोरियालीहरूलाई भड्काएर अस्थिरता मच्चाइदेला भन्ने पनि चीनको आँकलन छ ।
कोरियाली प्रायद्वीपमा चीनको लामो समयसम्म शासन रहेको भएपनि उन्नाईसौं शताब्दीमा पश्चिमसँगको अफिम युद्धमा हारपछि उसले त्यस क्षेत्रमा प्रभुत्व गुमायो । अनि जापानले विश्वयुद्धताका कोरिया र चीनका भूभागमा प्रभुत्व जमाएपनि दोस्रो विश्वयुद्धपछि कोरिया स्वतन्त्र भयो । हुन त पूँजीवादी र साम्यवादी खेमाहरूले दुई कोरियालाई टुक्र्याइदिएर सदाको द्वन्द्वको स्थितिमा पु–याए तर कसैगरी कोरिया एकताबद्ध भयो भने कोरियालीहरूको मनमा सुषुप्त रूपमा रहेको बृहत्तर कोरियाको अवधारणाले मूर्त रूप लिन सक्ने चीनको आँकलन छ ।
दक्षिण कोरियालीहरूले चीन र उत्तर कोरियाका बीचमा सन् १९६२ मा भएको एक सम्झौताको विरोध गर्दै आएका छन् । उक्त सम्झौता अनुसार चीनले उत्तर कोरियामा रहेको बाएक्दु पर्वतमाथि सम्प्रभुता जमाएको थियो जुन दक्षिण कोरियालाई पचेन किनकि कोरियाली संस्कृतिमा त्यस पर्वतको उच्च स्थान छ । अनि बीसौं शताब्दीको शुरुवातमा जापानले चीनलाई गान्दो नामक कोरियाली भूमि फिर्ता दिएको पनि कोरियालीहरूलाई चित्त बुझेको छैन ।
प्रायद्वीपको एकता भयो भने यी भूमिमाथिको अधिकार माग हुन सक्छ भन्ने चीनको डर हो ।
बाएक्दु पर्वतमाजस्तै वास्तवमा चीनले आफ्नो विशाल क्षेत्रमा रहेका अनेकौं अल्पसंख्यक जातिहरूमाथि आधिपत्य जमाउँदै उनीहरूले प्राचीनकालदेखि भोगचलन गर्दै आएको भूमिमा अधिकार जमाएको छ । तिब्बत र सिनजियाङ क्षेत्रमा चीनको कब्जाका विरुद्ध आवाजहरू उठ्ने गरेका छन् । चिनियाँ सभ्यताको प्रभाव यी अल्पसंख्यक जातिहरूको संस्कारमा परेको आधारमा चीनले उनीहरूमाथि नियन्त्रण कायम गरेको हो ।
यो आधारमाथि चुनौती नआओस् भन्नका लागि चीनले उनीहरूलाई बहुसंख्यक हान जातिकै स्तरमा राख्ने गरेको छ अनि हान जातिलाई त्यहाँका भूमिमा बसाएको छ । अल्पसंख्यक असन्तुष्ट जातिहरूले चीनबाट अलग्गिने माग नउठाऊन् भन्नका लागि चीनले विकासको मूल फुटाइदिएको छ किनकि अलग्गिने मागले चीनको भूमि घट्ने मात्र नभई सरकार नै अस्थिर हुन पुग्छ । सोभियत रुस टुक्रेपछि मध्यएसियामा अनेकौं जातीय देश बनेको उदाहरणले चीनलाई सधैं तर्साउने गरेको छ ।
चीनले अल्पसंख्यकहरूको भूमिमा आधिपत्य जमाउने गरेका कारण कोरियाली प्रायद्वीपमा चीनप्रति शंकाको वातावरण छ । सन् २०१२ मा गरिएको एक सर्वेक्षणमा लगभग दुई तिहाइ दक्षिण कोरियालीहरूले चीनको सैन्य शक्ति नै आफूहरूका लागि सबभन्दा ठूलो खतरा रहेको बताएका थिए । दक्षिण चीन सागरका टापुहरूमा चीनले जबर्जस्ती जमाएको आधिपत्यले पनि उसप्रति कोरियालीहरूको डर झन् पुख्ता भएको छ ।
कोरियाली प्रायद्वीपमा अस्थिरताको स्थितिले अमेरिकालाई चाहिँ फाइदै भएको छ । अस्थिरताको बहानामा उसले अनन्तकालसम्म थाड जडान गर्ने जायज कारण पाउँछ अनि चीन र रुसमाथि जासूसी गर्न पाउँछ । यसरी प्रायद्वीपमा पाइला राखेर उसले उत्तर कोरियालाई नियन्त्रणमा राख्ने बोझ चीन र रुसमा थोपरिदिएको छ ।
चीनले अघि बढाएको महत्त्वाकांक्षी रेशम मार्ग परियोजनामा भाँजो हाल्न पनि अमेरिकाले कोरियाली प्रायद्वीपमा अस्थिरता चाहेको विश्लेषण हुने गरेका छन् । अनि अमेरिकाकोे एकध्रुवीय विश्व अवधारणालाई चुनौती दिने चीन र रुसको प्रयासलाई असफल बनाउने यो पछिल्लो कदम चालिएको आँकलन समेत गरिएको छ ।
यो सामग्री तयार पार्न स्पुतनिक न्युजमा प्रकाशित एन्ड्रु कोरिब्कोको लेख अनि दी एटलान्टिकमा टेलर वाशबर्नले प्रकाशन गरेको लेखको सहयोग लिइएको हो ।
Advertisment
Advertisment