आशाको दियो बालेर नेकपालाई नियाल्दा

साउन २०, २०७६

सास हुञ्जेल आश भनिन्छ । मान्छे आशामुखी प्राणी हो । होला कि ! को बुलाकी झुण्ड्याएर बाँच्छ । हुने कहिल्यै होइन, होलाकिले छाडेन भन्छन् । सधैं आशावादी बन्छ, मान्छे । आशा छ र जीवन छ । पेन्डोराको बाकसबाट लाखौं जीवनाशक किटाणुहरू निस्केपछि अन्तिममा परी, परम सुन्दरी आशा निस्केकी थिई । त्यही आशाको त्यान्द्रोमा अल्झेर हामी मरेर पनि बाँचिरहेका छौं । हिस्सी हराएको हाँसो हाँसिरहेका छौं । यत्रतत्र सर्वत्र बिग्रिएको, नेपाल पूरै ध्वस्त हुन थालेको होहल्ला फिँजिए पनि नेपाली जनता आशाको दियो बालेर सत्तासीन नेकपालाई नियालिरहेका छन् ।

नेपाली राजनीतिले जनतालाई निराशाको पल्लो छेउमा पुर्‍याइरहेको साँचो हो । प्रेम कैदी वा प्रेम बस्न्यात लगायतका भाषणवाजहरूको ठूलै डप्फा वर्तमान नेकपाको सरकारबाट केही नहुने निराशा पस्किरहेका छन् । सरकारले जहाँ टेक्छ त्यहीँ पहिरो गैरहेको छ । बलियो प्रतिपक्ष छैन । कांग्रेस बीपीको नाम जप्दै रोएर बसेको छ । विकल्प झनै घिनलाग्दा छन् । नयाँ शक्ति जन्मिने बित्तिकै निमोनियाले थलियो । विवेकशील साझाले जरासन्धको कथालाई सम्झायो । नेपालका लागि नेपाली भन्नेहरू राजनीति गर्दैनौं भन्छन् । परिवार दलको ध्येय क्रिश्चिनिटी फैलाउनेभन्दा अर्को देखिएन । ऋषि कट्टेल, आहुति, गोपाल किराँती वा सीपी मैनाली जस्ता नेतागण सेनाहीन सेनापति जस्ता छन् ।


ADVERTISEMENT

कमरेड रोहित ‘भक्तपुरे नेता’मै सीमित रहे । मधेसवादी दलहरू पारिको आशिर्वाद बोकेर वारिका जनता ठग्न व्यस्त छन् । मोहन वैद्य जनताको घरवार होइन, बादलमाथि दरबार बनाउने काल्पनिकीमा मस्त छन् । राप्रपा नामका गुटहरू पार्टी बन्नै सकेनन् । राजावादीहरू राजा चाहन्छन्, तर पूर्व राजा ज्ञानेन्द्र छोरो र भारदारहरूको रूप हेरेरै होला टन्टा बेसाउन मञ्जुर देखिँदैनन् । नेपाली कांग्रेस बीपीको नाम जप्दै रोएर बसेको छ । नेकपा विप्लव...! अँ, त्यसले दुर्गमका गाउँहरूमा र बिदेसिनेसम्म मौका नपाएका युवामा क्रान्तिको सपना बाँड्दैछ । यीनैसितको सरकारी रवैयाबारे बोर्णबहादुर कार्की लेख्छन्, ‘विद्रोही नेकपालाई हतियार उठाउन बाध्य पार्ने र मुलुकलाई गृहयुद्धमा फसाउने हतारोमा सरकार देखिन्छ । ओली सरकार गृहयुद्धको पक्षमा भेडा प्रवृत्तिले अघि बढिरहेको छ ।’ विश्लेषकहरूको यस्तो विश्लेषण हुँदाहुँदै पनि रक्षामन्त्री ईश्वर पोख्रेल प्याच्चै भन्छन्, ‘विप्लव समूहसँग वार्ता हुँदैन !’

यो कठोरता, जिद्दी वा हठलाई राज हठ भनिन्छ क्यारे । बाल हठ, स्त्री हठ र राज हठका अनेक कथाहरू छन् । बाल हठबारे मञ्जु आप्mनै संस्मरणको रोचक कथा भन्छिन्– अड्डाबाट बा (भीमनिधि) घर फर्किने बेलामा ३/४ वर्षकी मञ्जुको आमासित झगडा पर्छ । ऊ भुइँमा लडीबुडी गरेर रुन थाल्छे । सोच्छे, बा आएर उठाउँछन् । माया गर्छन् र मिठाई दिन्छन् । अमाविरुद्ध पोल लगाउन पाइन्छ । यही विचारले ऊ आमाले फकाउँदा झनै चिर्रिन्छे । तर त्यो दिन बा धेरै अबेला आउँछन् । ऊ सम्झौता गर्न चाहँदिन, भुइँमै निदाउँछे । स्त्री हठबारे बोल्नु खतरापूर्ण हुन्छ । माइत गएकी श्रीमती लिन जाँदा श्रीमानको धोबी धुलाइ हुन्छ । बिहे गर्ने हो कि छोरी ? भनेर सोधिँदा बाबुआमाले मुद्दा खेप्नु पर्छ । गंगाराम काठमाडौंमा गुहारको पर्चा बाँढ्छ, तर पुलिस उसैलाई भकुर्छ । पोखरामा सीताले रामलाई खुत्रुक्कै पारिछन् । पुराणकी सीताले राम खोज्न जान नपर्ने लक्ष्मणको तर्कलाई आफैंलाई दाउ पार्न खोजेको बात लगाइन् । लक्ष्मण निस्किन बाध्य भए । र, सीता अपहरणमा परिन् । इतिहासकी राज्यलक्ष्मीदेवीले गगनसिंहको हत्यारो तत्काल पत्ता लगाउने चर्को हठ लिँदा कोत पर्व भएको थियो । तर सत्य अंगाल्न चाहने महिलाहरू पनि छन् र समाज धानिएको छ । राज हठको गतिलो उदाहरण हालका हाम्रा रक्षामन्त्री हुन् । वार्ता हुँदैन भन्नु हठ हो । यो ठूलो खतराको संकेत हो । गृहमन्त्री बादलले सत्यलाई अति अप्रिय शब्दमा राखे । घनश्याम भुसाल संयमित सम्प्रेषण राखिरहेका छन् ।

यहाँ हामी पार्टी र सरकारको सम्बन्धबारे तात्कालीन एमाले नेता मदन भण्डारीको कथनलाई जबर्जस्ती सम्झिन्छौं । नेपाली कांग्रेसमा सिंह–भट्टराईलाई गिरिजाले अति उपेक्षा गर्दा मदन भण्डारी भन्थे, ‘पुच्छरले कुकुर हल्लाउने होइन, कुकुरले पुच्छर हल्लाउने हो !’

नेकपा (विप्लव) माथिको दमनविरुद्ध बोर्णबहादुरजी खरो आवाज उराल्छन् भने शिष्ट साहित्यिक अभिव्यक्तिमा दिलनिशानी मगर राजनीतिक व्यवहारको माग गर्दछन् । उनी लोकप्रिय ‘लोकान्तर’ अनलाइनमा मार्मिक लेख लेख्छन् । माइला लामालाई राज्यले गरको व्यवहारप्रति खिन्नता प्रकट गर्दै चर्चित गायक राजेश राईको भनाई उद्धृत गर्छन्, ‘म माओवादी थिइनँ, तर माइला लामाको ठूलो प्mयान थिएँ । माइला लामाको सगरमाथा जस्तो प्रतिबद्धता र निष्ठा देखेर हामी रोमाञ्चित हुन्थ्यौं !’ मगर लेख्छन्, ‘माइला लामा केवल एकजना व्यक्ति होइन, उ त संस्था भैसक्यो । माइला लामाजस्ता महान व्यक्ति संसारमा दुर्लभ हुन्छन् ।  दुर्लभ चिज संरक्षण गर्नु के हामी सबैको कर्तव्य होइन ?’(०७६/०४/०९) ।

यसरी नेकपा (विप्लव)प्रति आम मान्छेको सहानुभूति खनिँदै जाँदा सरकार अलोकप्रियताको पल्लो छेउतिर धकेलिँदै छ । यहाँ हामी पार्टी र सरकारको सम्बन्धबारे तात्कालीन एमाले नेता मदन भण्डारीको कथनलाई जबर्जस्ती सम्झिन्छौं । नेपाली कांग्रेसमा सिंह–भट्टराईलाई गिरिजाले अति उपेक्षा गर्दा मदन भण्डारी भन्थे, ‘पुच्छरले कुकुर हल्लाउने होइन, कुकुरले पुच्छर हल्लाउने हो !’

दुइतिहाई बहुमतको नेकपाको सरकार बन्यो । गत चैतको शुरूमै पार्टीले भन्यो, ‘जनतामा जति भरोसा, विश्वास र उत्साह थियो, एकवर्षपछि त्यो बढेको छैन, बरु केही खस्केकै छ ।’ ५ महिनापछि त्यो ‘केही’ बढेर हदै भएको छ । सरकारमाथिको जनभरोसा लगभग छिनिसकेको छ । ०७५ चैत ३ गते ‘लोकान्तर’ का विमल गौतम र सुशील पन्तसँग कुरा गर्दै अध्यक्ष कमरेड प्रचण्डले सरकारको पक्षमै वकालत गरेका थिए ।

भनेका थिए, ‘संविधानले भनेअनुसार कानुनहरू बने, त्यो राम्रो भएको छ । भारत र चीनसँग व्यापारिक, पूर्वाधार निर्माण र व्यावसायिक विषयमा नेपालहितका केही समझदारी भएका छन् । ती महत्त्वपूर्ण छन् । सरकार भनेको झण्डै–झण्डैै बन्दुक जस्तै हो । त्यसले हान्दै जाने हो । त्यसले एक्सन गर्दै जाने हो तर विवेक भनेको पार्टी नै हो ।’ संसदीय व्यवस्था त्यस्तो हुनुपर्ने हो । कम्युनिस्टको सरकार त जनपक्षमा काम गर्न झनै कडा हुनुपर्ने हो । पार्टीसँग उचित समन्वय नहुँदा सरकार कडा होइन खुट्टा नटेक्ने भयो । यद्यपि दुईतिहाइको बहुमत छ, यसैले जनता अझै आशाको दियो बालेर नेकपालाई नियालिरहेका छन् ।  
         

साउन २०, २०७६ मा प्रकाशित

मदन भण्डारी

वामपन्थी विचारक भण्डारी पोखरामा रहेर समसामयिक विषयमा लेख्छन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस