
तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि अभियोग लागेको यौन दुर्व्यवहार सम्बन्धी मुद्दाको सुनुवाइ अन्तिमतिर पुगेको छ ।
जिल्ला अदालत काठमाडौंमा मुद्दा सुनुवाइ सम्बन्धी अधिकांश काम पूरा भएकाले अन्तिम सुनुवाइ भइरहेको छ ।
अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले इजलाशबाट अन्यथा आदेश नभएमा आज आइतबारै मुद्दाको फैसला हुनसक्ने सम्भावना रहेको बताए ।
हेर्दाहेर्दैमा रहेको मुद्दाको न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा पहिलो नम्बरमै सुनुवाइ भइरहेको छ । सरकारी वकिलले बहस गरिसकेको र प्रतिवादी पक्षका वकिलले बहस गरिरहेका श्रेस्तेदार श्रेष्ठले बताए ।
‘इजलाशमा बहस भइरहेकाले यस्तो नै हुन्छ भनेर भन्न सकिँदैन । अन्यथा आदेश नभएमा मुद्दा फैसला हुने अवस्थामा छ । बाँकी केही बुझ्नै पर्ने भए आदेश हुन्छ, फैसला हुँदैन,’ उनले भने, ‘बहसको क्रममा वकिलले केही कुरा उठाउन सक्छन्, इजलाशलाई त्यो लाग्यो भने, थप बुझ्नुपर्ने देखियो भने अन्तिम हुँदैन ।’
जिल्ला अदालतको आदेशले अभियोग लागेका महरा पुर्पक्षका लागि थुनामा छन् । संसदीय सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि महराविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा परेको थियो ।
यौन दुर्व्यवहारको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएपछि महरा पक्राउ परेका थिए ।