प्रत्येक महिनाको पहिलो मंगलवार आफ्नो निर्वाचन क्षेत्रमा सुन्दरकाण्ड पाठ गराउने निर्णय लिएका आम आदमी पार्टीका विधायक सौरभ भारद्वाज र नरेश बल्यानले सोमवार हनुमानजीको नाममा विधानसभामा शपथ लिएका छन् ।
भारद्वाज ग्रेटर कैलाशको प्रतिनिधित्व गर्छन् भने बल्यान उत्तम नगरका विधायक हुन् ।
भारद्वाजले शपथ लिँदै गर्दा केही विधायकहरूले जय बजरंगबली भन्दै नारा लगाए ।
पछि भारद्वाजले भने, ‘विधायकले आफ्नो आराध्यदेवको नाममा शपथ लिन पाउँछ । मैले हनुमानजीको नाममा शपथ लिने निर्णय गरें, उहाँ ईश्वरको अवतार हुनुहुन्छ ।’
उनले शपथको अन्त्यमा जय हिन्द पनि भने ।
भाजपाका केही विधायकले चाहिँ भारद्वाजको शपथबाट सदनको मर्यादा उल्लंघन भएको बताए । ‘विधानसभा भनेको दिल्लीका जनताको समस्या समाधान गर्ने थलो हो, कुनै धार्मिक स्थल हैन । त्यसैले मैले शपथप्रति आपत्ति जनाएको हुँ,’ गान्धीनगरका विधायक अनिल बाजपेईले भने ।
भाजपालाई व्यंग्य कस्दै भारद्वाजले ट्वीट गरे, ‘भाजपा किन हनुमानजीको नाममा आपत्ति जनाउँछ ? भाजपाको केन्द्रीय नेतृत्वको पनि यही धारणा छ ? उनीहरू किन मौन ?’
गत साता भारद्वाज र बल्यान दुवैले आफ्नो निर्वाचन क्षेत्रमा सुन्दरकाण्ड पाठ गराए ।