
कोरोनाको संक्रमण फैलिए सरकारले क्वारेन्टाइनमा नराख्ने, जनता स्वयं सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भन्ने स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
स्वास्थ्यमन्त्रीको भनाइले जनतालाई अझै बढी त्रसित बनाएको कांग्रेसको टिप्पणी छ ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले स्वास्थ्यमन्त्रीको अभिव्यक्ति बारेमा सदनमा सरकारको जवाफ माग गरेकी हुन् ।
‘कोरोनाका कराण जनताहरू त्रसित छन्, तर सरकारका स्वास्थ्यमन्त्रीले सरकार तयारीमा छैन, आफैं स्वास्थ्यको ख्याल गरेर क्वारेन्टाइनमा बस्नुपर्छ भनेर दिएको अभिव्यक्तिले जनतालाई अझै बढी त्रसित गरेको हामीले अनुभूति गरेका छौं,’ भुसालले भनिन्, ‘सरकारले किन यस्तो अभिव्यक्ति दियो, यसबारे सभामुखमार्फत् सदनमा जवाफ चाहन्छौं ।’
मंगलवार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री ढकालले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने बताएका थिए ।
बुधवार उपप्रधानमन्त्री ईश्वर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा पनि स्वास्थ्यमन्त्री ढकालको भनाइप्रति राजनीतिक दलका नेताहरूले आपत्ति जनाएका थिए ।
प्रतिनिधि सभाको बैठकमा सांसदहरूले कोरोनाको संक्रमणबाट बच्न शैक्षिक संस्थाहरू तत्काल बन्द गर्न माग समेत गरेका छन् ।
बैठकको शून्य समयमा सांसदहरूले कोरोनाको सन्त्रासबीच संसद् चलाउनु उपयुक्त नभएको पनि बताए ।