काठमाडौँ, ७ वैशाख - प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनमा उम्मेदवार र मतदातालाई प्रभाव पार्ने गरी कुनै काम नगर्न÷नगराउन गैरसरकारी संस्थाका प्रतिनिधिलाई कडा निर्देशन दिएका छन् ।

स्थानीय तहको यही वैशाख ३१ गते हुने निर्वाचनका सन्दर्भमा गैरसरकारी संस्थाले पालन गर्नुपर्ने आचारसंहिताका बारेमा जानकारी गराउने उद्देश्यले आज आयोजित छलफलमा उनले उक्त निर्देशन दिएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले भने , “नेपाली जनताका नाममा आएको रकम र साधनस्रोत उनीहरुकै हितका लागि खर्चनु पर्दछ, निर्वाचनको समयमा आचारसंहिताको पालनामा अलि बढी सजग हुनुस् ।”
निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष तुल्याउन, उम्मेदवार र दलबीच कुनै द्वन्द्व नहोस् र मतदाताले भयरहित वातावरणमा मतदानमा भाग लिन पाउन् भन्ने हेतुले जारी गरिएको निर्वाचन आचारसंहिताको पालनामा सबैले ध्यान पु¥याउन आवश्यक रहेको बताए ।
आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र आचारसंहितको पालनामा आयोगले अब ध्यान केन्द्रित गर्ने जानकारी दिए ।
आयोगका सहसचिव सुशील कोइरालाले निर्वाचन आचारसंहितसम्बन्धी कानुनी व्यवस्था, दण्ड, जरिवानाका बारेमा जानकारी गराउँदै दक्षिण एसिया र अफ्रिकी मुलुकले अवलम्बन गरेको कानुनी व्यवस्थाका आधारमा आचारसंहिता तयार गरिएको बताए ।
समाज कल्याण परिषद् र मातहतमा सञ्चालित गैरसरकारी संस्थाका प्रतिनिधिले आचारसंहिताका बारेमा व्याख्यामा एकरुप तथा पालना भए÷नभएकामा समान दृष्टिकोण हुन आवश्यक रहेको बताए ।