
हालै जारी भएका दुवै विवादास्पद अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन् ।
चौतर्फी विरोध भएपछि शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयपछि राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।
यी दुवै अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख ८ गते राष्ट्रपति भण्डारीले जारी गरेकी थिइन् ।
अध्यादेशको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले पार्टी नेताहरूसँग उक्त अध्यादेश फिर्ता लिने वचन दिएका थिए ।
विवादास्पद अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्र चर्को दबाब परेको थियो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यको बिहीवार बसेको बैठकले अध्यादेश फिर्ता नभए राजनीतिक दुर्घटना हुनसक्ने भन्दै सचेत गराएको थियो ।
हेर्नुहोस्, राष्ट्रपति कार्यालयको विज्ञप्ति :
सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश खारेज
आज मिति २०७७ साल वैशाख १२ गते शुक्रवारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम देहाय बमोजिमका अध्यादेशहरू खारेज गर्नुभएको छ ।
क्र.सं. अध्यादेशको नाम
१. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७
२. राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता