२१ असार २०८३, आइतबार

कूटनीतिक तथा राजनीतिक पहलमार्फत कालापनीलगायत सीमा विवाद तत्काल हल गरियोस्– सांसद रावल

बैशाख २८, २०७७
कूटनीतिक तथा राजनीतिक पहलमार्फत कालापनीलगायत सीमा विवाद तत्काल हल गरियोस्– सांसद रावल
फाइल फोटो

राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा 'पार्वती'ले लिपुलेक–कालापानीलगायतका क्षेत्रमा देखिएका सीमा विवाद तत्काल हल गर्न सरकारसँग माग गरेकी छन् ।

राष्ट्रिय सभाको आइतवारको बैठकमा बोल्दै सांसद रावलले कूटनीति तथा राजनीतिक पहलमार्फत समस्या समाधान गर्न माग गरेकी हुन् ।

'लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत दर्जनौं स्थानमा नेपाल–भारतबीच देखिएको सीमा विवाद तत्काल कूटनीतिक तथा राजनीतिक पहल अघि बढाएर सदाका लागि हल गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु,' उनले भनिन् ।

नेपालमात्र नभएर सिंगो विश्वले कोभिड– १९ को महामारी सामना गरिरहेका बेला नेपाली भूमिमा भारतले सडक सञ्जाल निर्माण गरेको विषयले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको उनको भनाइ थियो ।

साथै उनले कोभिड– १९ सँग संघर्षरत नेपाली तथा विश्वभरका संक्रमितहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिन् ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा भएको छलफलमा आफ्नो धारणा राख्दै उनले वर्तमान विषम परिस्थितिको वस्तुनिष्ठ विश्लेषण गरेर तत्कालीन, मध्यकालीन र दीर्घकालीन सोचसहित संविधान, कानून र जनताको अपेक्षाअनुसार नीति तथा कार्यक्रम र सोअनुसार बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

सांसद रावलले शिक्षामा सरकारी लगानी अभिवृद्धि गरी अनलाइन एजुकेसनमा ध्यान दिन र स्वास्थ्यको वर्तमान स्थितिमा परिवर्तन तथा सरकारी अस्पतालमा लगानी वृद्धि गरी भरपर्दो, सर्वसुलभ र जनमुखी स्वास्थ्य सेवा लागू गर्न समेत सरकारसँग माग गरिन् ।

सांसद रावल राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति समेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्