२२ असार २०८३, सोमबार

त्रिविले प्रहरीलाई दिएको जग्गा फिर्ता

असार १३, २०७७
त्रिविले प्रहरीलाई दिएको जग्गा फिर्ता

त्रिभुवन विश्वविद्यालयले महानगरीय प्रहरी वृत्त कीर्तिपुरको भवन निर्माण गर्न दिएको जग्गा भवनसहित फिर्ता लिने निर्णय गरेको छ । त्रिवि परिसरमा शैक्षिक गतिविधिलाई समेत बाधा पुग्ने गरी प्रहरी कार्यालय निर्माण गरिएको भन्दै विद्यार्थी, प्राध्यापकले विरोध गरेका थिए ।

त्रिवि कार्यकारी परिषद्को असार ५ को बैठकले प्रहरीले भवन निर्माण गरेको स्थलमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको स्नातकोत्तर र विद्यावारिधि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । त्रिवि हातामा प्रहरी कार्यालय स्थापना गर्न यसअघि ४ रोपनी जग्गा उपलब्ध गराइएको थियो । कीर्तिपुरस्थित चिकित्सा शिक्षा अध्ययन संस्थानको भवनसँगै प्रहरीले दुईवटा भवन निर्माण सम्पन्न गरिसकेको छ । कीर्तिपुर बजारमा रहेको प्रहरी वृत्त नवनिर्मित भवनमा सर्ने तयारी गर्दा विरोध भएको थियो । परिषद्ले प्रहरीलाई त्यस्तै भवन निर्माणबापत संस्थान र नेपाल सरकारबाट प्राप्त रकम दिने निर्णयसमेत गरेको छ ।

त्रिविका प्रवक्ता सूर्यप्रसाद अधिकारीले प्रहरीलाई अलि छेउछाउको जग्गा उपलब्ध गराउने कि भन्ने सैद्धान्तिक निर्णय भएको जनाए । ‘पहिले कार्यकारी परिषद्ले नै निर्णय गरेर दिएको रहेछ, अहिले अलि छेउको जग्गा दिने कि भन्ने सल्लाह भयो । हामीलाई पनि भवन चाहिरहेको छ, संस्थानलाई दिने प्रक्रिया अघि बढाएका छौं,’ उनले भने । जथाभावी बाँडेर साँघुरिँदै गएको जग्गामा महानगरीय प्रहरी वृत्त कीर्तिपुरको भवन बनाइएको थियो । विद्यार्थीको विरोधपछि कार्यकारी परिषद्ले अहिले निर्माण गरेको भवन आफ्नो स्वामित्वमा लिने निर्णय गरेको हो । प्रहरीलाई कहाँको जग्गा उपलब्ध गराउने भन्ने विषयचाहिँ छलफलमै रहेको उनले जनाए ।

विश्वविद्यालयको विभिन्न शैक्षिक गतिविधि सञ्चालन हुने क्षेत्रको बीच भागमा प्रहरी वृत्त स्थापना गर्न लागिएको थियो । विद्यार्थीले त्यसको विरोध गर्दागर्दै पनि निर्माण सम्पन्न गरिएको हो । आयुर्वेद शिक्षण अस्पतालको अगाडि, विज्ञान तथा प्रविधि प्रयोगशाला (बीपी संग्रहालय), चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गतको प्रयोगशाला र बागवानी केन्द्रको बीच भागमा उक्त भवन बनेको छ ।

महानगरीय वृत्तमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्ड रहन्छ । परिषद्ले सुरुमा कीर्तिपुर बजारतर्फ जाने तीनकुने (आँखा अस्पताल अगाडि) स्थित त्रिविकै जग्गामा प्रहरी भवन निर्माण गर्न दिने तयारी गरेको थियो । ३ वर्षअघि नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले विरोध गरेपछि तीनकुनेभन्दा करिब ५ सय मिटर तल बनाइएको हो ।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, डिनको कार्यालयअन्तर्गत रहेको कृषि क्याम्पस, रामपुर, चितवन र वनविज्ञान अध्ययन संस्थान, हेटौंडालाई गाभेर सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना गरेको थियो । उक्त विश्वविद्यालय स्थापनापछि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको स्नातकोत्तर र विधावारिधिको कार्यक्रम भवन भाडामा लिएर सञ्चालन गर्दै आइएको छ । ती कार्यक्रम सञ्चालन गर्न त्रिवि परिसरमै जग्गा उपलब्ध गराए पनि भवन निर्माण हुन सकेको छैन । प्रहरी भवन पनि विवादित बनेकाले कार्यकारी परिषद्ले कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको कार्यक्रम सञ्चालन गर्न दिन सामान्य प्रशासन महाशाखालाई परिपत्र गरेको हो ।

कार्यकारी परिषद्को २०७३ मंसिर २२ को निर्णय नम्बर ९२५ बाट जग्गा प्रहरीलाई उपलब्ध गराइएको थियो । प्रहरीलाई नजिकैको खोल्सापट्टि जग्गा दिए पनि भवन बनाउन नमिलेका कारण माथिकै क्षेत्रमा बनाउन अनुमति दिएको त्रिविका पूर्वपदाधिकारीहरू बताउँछन् । कान्तिपुर दैनिकमा सुदीप कैनीले यो खबर लेखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्