
हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित सूर्यचोकमा एक महिलाकाे हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन्।
२४ वर्षीया सुस्मिता क्षेत्री थापाको हत्या गरेकाे आराेपमा स्थानीय प्रहरीले मृतकका ससुरा प्रकाश थापा, नन्द सीता थापा, सासु तुलसा थापा र जेठीनन्द दुर्गा थापा कार्कीलाई पक्राउ गरेकाे हाे।
सुस्मिता आफ्नै घरको भान्सा कोठाभित्र असार २ गते बिहान मृत अवस्थामा फेला परेकी थिइन्।
घटनाको अनुसन्धान गर्ने क्रममा मृतकका ससुरा प्रकाश र नन्द सीताले पटक पटक काठको लौरो र ढुङ्गाको लोहोरोले सुस्मितामाथि प्रहार गरी हत्या गरेको, बाबुछोरीले घटनास्थललाई आत्महत्या जस्तो देखाउनको लागि भान्छा कोठाभित्र बिग्रिएका सबै चिजबस्तु यथास्थानमा मिलाएर राखेको, सासू तुलसा थापाले फुटेका सिसाका टुक्राहरु प्लाष्टिकका छोलामा हाली बरन्डामा राखेको तथा असार २ गते बिहान प्रकाशले छिमेकमा गई बुहारीले भान्छा कोठामा आत्महत्या गरेको भनी जानकारी गराएको अनुसन्धानबाट खुल्न आएकाे प्रहरीले जनाएकाे छ।
कपिलवस्तुस्थित ससुरालीबाट मोटरसाइकलमा फर्कने क्रममा नवलपरासीको दाउन्नेमा सुस्मिताका श्रीमान रूपेन्द्र थापाको ०७६ असोज २३ गते सवारी दुर्घटनामा परी मृत्यु भएको थियो।
उनको मृत्युको दोष सुस्मितालाई दिई पारिवारका सदस्यहरुबाट पटक पटक आक्षेप लगाई मानसिक तनाव दिने गरेको, ससुरा प्रकाश थापाले सुस्मितालाई जबरजस्ती करणी उद्योग गरेको तथा रुपेन्द्र थापाको सवारी दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्ति बापत पाउने रकम, निजको कार्यालयबाट भुक्तानी लिने रकम, सामाजिक सुरक्षा कोषबाट पाउने रकम र बीमा रकम समेतका सबै रकम ससुरालाई दिनुपर्छ भनी परिवारबीच आपसी-विवादको कारण सुस्मितालाई दवाव दिने गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।