३१ असार २०८३, बुधबार

द्वन्द्वग्रस्त मुलुक जाँदै नेपाली शान्ति सैनिक

असार २२, २०७७
द्वन्द्वग्रस्त मुलुक जाँदै नेपाली शान्ति सैनिक
फाइल फोटो।

नेपाली शान्ति सैनिकका दुई डफ्फा एउटै विमानमार्फत मङ्गलबार राति द्वन्द्वग्रस्त मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली प्रस्थान गर्दैछन् । कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बदली हुन जाने शान्ति सेना पठाउने कार्यलाई केही समय स्थगन गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा ती मुलुकमा तीन महिना अघि नै खटिई जानुपर्ने शान्ति सैनिक कोभिड–१९ कै कारण रोकिन परेको थियो । नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजमार्फत शान्ति सैनिक पठाउन लागिएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । 

उक्त विमानमा सेन्ट्रर अफ्रिकन रिपब्लिकका लागि ५६ सैनिक प्रहरी र मालीका लागि १२८ सैनिक इञ्जिनीयरको प्राविधिक टोली जानेछ । जङ्गी अड्डाका अनुसार, केही समयपछि नै २३० जनाको शान्ति सैनिकको अर्काे टोली द्वन्द्वग्रस्त मुलुक लिबिया प्रस्थान गर्नेछ । 

सुडानका लागि प्रस्थान गर्नुपर्ने अर्काे शान्ति सैनिक टोली सम्पूर्ण तालीम प्रशिक्षण पूरा गरे पनि त्यहाँबाट अनुमति प्राप्त भई नसकेका कारण त्यसतर्फ जान थप केही समय कुर्नपर्ने देखिएको छ । सुडान खटिने नेपाली शान्ति सैनिकको सङ्ख्या ७०० छ । पछिल्लो समय द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ परिचालित शान्ति सैनिकको डफ्फा एक वर्षका लागि खटिँदै आएको छ ।

नेपाली सेनालाई ४३ मिसनको अनुभव

विभिन्न मुलुकमा स्थापना भएका ४३ वटा मिसनमा खटिएर हालसम्म एक लाख २९ हजार ९१७ नेपाली शान्ति सैनिकले विश्व शान्तिका लागि योगदान पु¥याइसकेका छन् । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हाल विश्वका १२ मिसनमा रही तत् देशमा शान्ति स्थापनार्थ पाँच हजार ९१ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति सैनिकमा खटिने महिला सैनिकको सङ्ख्या हाल १८० जना छ । 

नेपाल प्रहरीका २३९ र सशस्त्र प्रहरी बलको ३४६ को सङ्ख्यामा जनशक्ति विभिन्न द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि खटिरहेको छ । त्यसरी खटिने क्रममा हालसम्म  ६८ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ सैनिक गम्भीर घाइते भएका सेनाले जानकारी दिएको छ ।

अहिले शान्ति सैनिक धेरै पठाउने मुलुकको सूचीमा नेपाल चौँथो वरियतामा छ । संयुक्त राष्ट्रसङ्घलाई नेपालले १० हजारको सङ्ख्यामा नेपाली शान्ति सैनिक उपलब्ध गराउन सक्ने जानकारी दिइसकेको छ । 

द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि गरेको योगदानका आधारमा फोर्स कमाण्डरलगायत उच्चतहको जिम्मेवारी पाउनुपर्ने माग गर्दै आएको छ । पछिल्लो समय नेपाली सेनाका उपरथी ईश्वर हमालले फोर्स कमाण्डरको जिम्मेवारी पाएका छन्। उनी उक्त पद प्राप्त गर्ने नेपाली सेनाका छैटौँ उच्च अधिकृत हुन्।

salt training

कमेन्ट गर्नुहोस्