
रोहित गुप्ता जोरपाटीको राई स्कूलमा कक्षा ७ मा अध्ययनरत थिए ।
भारतको मुझफ्फरपुर स्थायी घर भएका ११ वर्षीय रोहितका बुवाआमा काठमाडौंको खिचापोखरीमा कपडाको व्यापार गर्थे ।
डेरा पनि पसलबाट नजिक खिचापोखरीमै थियो ।
२०६४ साल असोज २४ गते स्कूलबाट आएपछि खाजा खाएर रोहित बाहिर निस्किए । उनी निस्किएको बुवाआमाले पत्तो पाएका थिएनन् ।
बेलुका साढे ८ बजे उनका बुवाआमा पसल बन्द गर्दै थिए ।
रोहितका बुवा बासुदेव गुप्तालाई ल्यान्डलाइनबाट अपरिचित व्यक्तिको फोन आयो र फोनमा उनका छोरा अपहरणमा परेको सूचना दिइयो ।
ती अपरिचित व्यक्तिले २ लाख ५ हजार फिरौती दिए छोरालाई छाडिदिने बताए ।
छोरा अपहरणमा परेपछि उनले आफ्ना जेठान राजेशकुमार गुप्तालाई खबर गरे । खबरलगत्तै उनी त्यहाँ आए ।
राजेशलाई बासुदेवले सबै कुरा सुनाएपछि उनीहरूले ती अपहरणकारीलाई पैसा दिएर बालकलाई छुटाएर ल्याउने योजना बनाए ।
सुझाव राजेशले नै दिएका थिए । उनीहरूले प्रहरीलाई खबर समेत गरेनन् ।
त्यसपछि बासुदेव र राजेश पैसा लिएर रोहितलाई अपहरणमुक्त गर्न थानकोटको त्रिभुवन पार्क गए । तर, ती अपरहणकारीले पैसा लिन अर्को ठाउँ तय भएको र राजेशसँग पैसा पठाइदिए मात्रै रोहितलाई अपहरण मुक्त गर्ने बताए । त्यसपछि उनीहरू त्यहाँबाट निस्किए ।
पछि फेरी राजेश (रोहितका मामा) पैसा लिएर गए । तर फर्किँदा भने रोहितलाई नलिई एक्लै आए ।
अपहरणकारीहरू पैसा खोसेर ट्याक्सीमा भागेको र रोहितलाई भने फिर्ता नगरेको जवाफ उनले दिए ।
त्यसपछि उनीहरूले प्रहरीमा खबर गरे ।
प्रहरीले अनुसन्धान थाल्यो तर केही पत्ता लगाउन सकेन ।
उनले आफ्नो भाञ्जा पत्ता लगाउन नसकेको भन्दै प्रहरीलाई गाली समेत गरेका थिए ।
अपहरण गरेको ३ दिनपछि अर्थात् २०६४ साल असोज २७ गते बेलुका सवा ८ बजेको समयमा कमलादीको गणेश मन्दिरनजिक सडक पेटीमा प्लास्टिकको बोरामा पोको पारेको अवस्थामा प्रहरीले रोहितको शव फेला पार्यो । तर प्रहरीले अपहरणकारी भने पत्ता लगाउन सकेन ।
केही समयपछि महानगरीय अपराध महाशाखाले रोहितको अपहरणमा संलग्न रहेको आरोपमा धादिङ घर भएका विष्णु सुनारलाई पक्राउ गर्यो ।
अनुसन्धान गर्दै जाँदा प्रहरी नै झस्किने तथ्य बाहिर आयो । अपहरणका मुख्य योजनाकार रोहितका मामा राजेश नै रहेछन् ।
त्यतिञ्जेलसम्म त राजेश छठ मनाउने बहानामा भागेर भारत पुगिसकेका थिए ।
काठमाडौंको खिचापोखरीमै कपडाको व्यापार गर्दै आएका राजेश गुप्ताले आफ्ना भाञ्जालाई अपहरण गरेर आफ्नै बहिनी र ज्वाइँसँग पैसा असुल्ने योजना बनाएका थिए । त्यही योजनाअनुरूप राजेशले बासुदेवलाई अपहरणकारीलाई पैसा दिनुपर्छ भन्ने सल्लाह समेत दिएका थिए जबकि अपहरणकारी आफैं थिए ।
राजेशले योजनाबद्ध रूपमा पार्कमा पैसा आफैँ लगेर गएका र आफ्ना सहयोगी विष्णु सुनारलाई ३५ हजार दिएको तथ्य प्रहरीले अनुसन्धानमा पत्ता लगायो ।
विष्णु सुनारले प्रहरीलाई दिएको बयानअनुसार राजेशले आफ्ना भाञ्जा रोहितलाई जादुटुना सिकाइदिने भन्दै आफ्नो कोठामा लगेर मुख छोपेर नाइलनको डोरीले घाँटी कसेर हत्या गरेपछि फिरौती रकम माग गरेका थिए ।
त्यसपछि प्रहरीलाई खबर गर्ने, त्रिभुवन पार्कमा पैसा लग्ने लगायतका सबै नाटक राजेशकै योजनाअनुसार भएको थियो । त्यो थाहा पाएपछि बासुदेवले हत्यारा जेठानको खोजीमा प्रहरीलाई साथ दिँदै आएका थिए ।
लामो समय बितेकाले रोहितकी आमाले त माया नै मारेकी थिइन् । तर बुवा बासुदेवले भने हत्यारा आफ्ना जेठानलाई सजाय दिलाउने वाचा कसेका थिए । उनले त्यसैअनुरुप सघाउँदै समेत आएका थिए ।
पहिले नै पक्राउ परेका विष्णु सुनुवारलाई जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएपछि उनी कैद भुक्तन गरिरहेका छन् । तर भागेर भारतमा बस्दै आएका अर्का हत्यारा राजेशकुमार गुप्तालाई महानगरीय अपराध महाशाखाले साउन ३ गते (शनिवार) सर्लाहीको मलंगवा– ८ बाट पक्राउ गरी आज (आइतवार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्रारम्भिक अनुसन्धानमा व्यापारमा घाटा भएपछि भाञ्जाको हत्या गरेर फिरौती मागेको देखिएको प्रहरीले जनाएको छ ।
विराटनगरमा व्यापार गर्दै आएका राजेशले व्यापारमा घाटा भएपछि बासुदेवकै सहयोगमा काठमाडौंमा कपडाको व्यापार गर्दै आएका थिए । अर्का हत्यारा विष्णु सुनार उनकै पसलमा काम गर्ने कामदार भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
राजेश १३ वर्षसम्म भारतमा पनि कपडाको व्यापार गरेर बस्दै आएको अनुसन्धानमा खुलेको छ ।