
विकास निर्माणका काम जनताको माग एकातिर आयोजनाका नाममा बजेट अर्कोतिर खर्च हुने गरेको भेटिएको छ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ मा जनताको आवश्यकताका आधारमा जनप्रतिनिधिले आफू अनुकुलका काम योजना ल्याएको स्थानीयले आरोप लगाएका छन्।
वडा नम्बर १ को राजकुडा सामुदायिक वनमा बहुउद्देश्यीय भवन र मन्दिर निर्माण भइरहेको छ। दुई संरचना भन्दा आफूहरूलो सिंचाइ, खानेपानी र सडकको स्तरउन्नति हुने वीरपुरका स्थानीयको माग छ।
जिल्ला वन कार्यालय कपिलवस्तुको स्वीकृतपछि राजकुडा सामुदायिक वनको जग्गामा अहिले नगरपालिका र वनको आर्थिक सहयोगमा बहुउद्देश्यीय भवन निर्माणको काम अगाडि बढेको छ। स्थानीय गौरीशंकर बञ्जाडेले वनभित्र कभर्ड भन्दा अन्य पूर्वाधार निर्माणमा जनप्रतिनिधिको ध्यान जान आवश्यक रहेको बताए।
बहुउद्देश्यीय हल र मन्दिरमा लाखौं रकम खर्च गर्नुको सट्टा शिवालयदेखि पोदिनी टोलसम्म सडक ग्राभेल, बेतानीमा पानी, तिनमहेरी देखि धैरेसीसम्मको सडक ग्राभेल आवश्यकता रहेको बताएका छन्।
गत वर्षदेखि सामुदायिक वनको जग्गामा बहुउद्देश्यीय भवन निर्माण भइरहेको छ । बुद्धभूमि नगरपालिकाको १५ लाख, वडा नं. १ बाट १० लाख र वनको ५ लाख गरी ३० लाखमा भवन निर्माण भइरहेको छ।
सुरुवातको चरणमा सिंगल कोटसहितको बहुउद्देश्यीय भवन निर्माणका लागि १४ लाख रकम खर्च भएकोमा दोस्रो चरणका लागि ३० लाखको काम भइरहेको बुद्धभूमि नगरपालिका वडा नम्बर १ का अध्यक्ष तेजबहादुर बस्नेतले बताए।
वन कार्यालयबाट स्वीकृत भएपछि वनको सामुदायिक भवन र त्यसैमा कभर्ड हल समेत बनाउने गरी योजनाको काम अगाडि बढेको उनले बताए।
उनले सिंचाइ र सडक ग्राभेलमा बर्सेनि रकम छुट्टाएर काम भइरहेको बताए। कुल ७० लाखको लागत स्टेटमेन्ट मध्ये ४४ लाखमा सो भवन निर्माण सम्पन्न हुने उनले बताए। पछिल्लो चरणको ठेक्का बुटवलको मनोज इन्जिनियरले ३० लाखमा ल्याएका छन्।
राजकुडा सामुदायिक वनका अध्यक्ष मिनबहादुर थापाले वन कार्यालयबाट स्वीकृत भएपछि कार्यालयको भवनसँगै कभर्ड हल प्रयोग हुने गरी निर्माणको काम भइरहेको उनले बताए।
वडाले सुपादेउराली मन्दिरका नाममा पनि बर्सेनि रकम खर्च गरेको बताएका छन्। उनले वडामा योजना ल्याउँदा सबै आवश्यकताका आधारमा ल्याएको र त्यो सबै जनताकै लागि भएको हुँदा विरोध गर्नुको कुनै पनि अर्थ नभएको बताए।