उत्साह सफलताको पर्याय : आफूलाई कमजोर ठान्नु महापाप

कृष्णहरि बास्कोटा
कृष्णहरि बास्कोटा

बास्कोटा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त हुन् ।

जो उत्साही छ, उ लक्ष्यमा पुग्छ । अरुले सक्ने मैले किन नसक्ने भन्ने आफैंसँगको सामान्य प्रश्नले मानिसलाई उत्साही तुल्याउँछ । 

यसबाट गरे सकिन्छ भन्ने भावना जागृत हुन्छ, जसले लक्ष्यमा पुर्‍याउन मद्दत गर्छ । आखिर कसैले पनि जन्मिँदैमा सिकेर आउने होइन । सिक्न थालेपछि सिकिने हो ।


Advertisement

गरेपछि काम हुने हो । यथार्थमा गन्तव्यतर्फ फर्किएर हिँड्न थालेपछि गन्तव्यमा पुगिनुको विकल्प नै रहँदैन । यसैलाई जीवनमा सफलता चुमेको भनिन्छ ।

रवीन्द्रनाथ टैगोरको एउटा प्रेरक वाक्यले करोडौंलाई उत्साही तुल्याउन सक्छ । उनी भन्छन्, ‘किनारामा उभिएर र पानीमा हेरेर मात्र समुन्द्र पार गर्न सकिन्न ।’ अर्थात् भगवान्ले पनि भन्छन्, ‘तिमी आट म पुर्‍याउँछु ।’


Advertisement

भगवान् गौतम बृद्ध भन्छन्, ‘हामी जे छौं त्यो हाम्रै विचारको परिणाम हो ।’ अर्थात् हामी आशावादी छौं, अपेक्षित परिणाम हात पार्छाैं । हामी निराशावादी छौं, पहिल्यै आफूले प्राप्ति हुँदैन भनेर त्यागिसकेको लक्ष्य हासिल हुने कुरै भएन ।

बुद्धले अगाडि प्रकाश पारेका छन्, ‘तिमी जे छौं त्यो तिम्रो विगतको परिणाम हो । जे गर्छाैं, त्यसैले तिम्रो भविष्य निर्माण गर्छ । यत्ति कुराको बोध गर्ने मानिस उत्साही भइहाल्छ । उत्साहले असफल हुनै दिँदैन ।’

चन्द्रशेखर आजाद भारतमा अंग्रेज हटाउ अभियानमा लागेका थिए । एकदिन उनी प्रहरीद्वारा पक्राउ परे तर उनलाई प्रहरीले कारवाही गर्ने कुनै आधार थिएन । जसको कारण प्रहरीले कारवाहीस्वरूप उनलाई एकरात प्रहरी चौकीको चौरमा खुला आकाशमा रहन बाध्य गरियो । सो समय भारतमा निकै चिसो बढेको थियो । केही प्रहरीले चन्द्रशेखर रातभरिमा कठ्यांग्रिएर मर्न सक्नेसम्मको आकलन गरेका थिए । 

चन्द्रशेखरले भारतबाट अंग्रेज नहटाई मृत्युवरण नगर्ने अठोट लिएका थिए, जसको कारण उनमा बाँच्ने उत्साह थियो । राति चिसो निकै बढेपछि उनी उठबस गर्न थाले, यसले जीउ तात्यो । बिहान भएपछि प्रहरीबाट उनी मुक्त भए । यसरी चन्द्रशेखर आप्mनो उत्साहका कारण पुलिसको पञ्जाबाट फुत्किएर अंग्रेज हटाउन सफल भए ।

हरेक व्यक्तिले जे बन्न चाहन्छ, त्यो बन्न सक्छ । यसका लागि आफ्नो इच्छालाई पूर्ण विश्वासका साथ सधै स्मरण गर्नुपर्छ । आफ्नो लक्ष्यमा इमान्दार हुनुपर्छ । 

एउटा घतलाग्दो कथा पढौं । एउटै उद्देश्यका साथ अघि बढेका ३ जना एउटा चोकमा भेट भए । तीनै जनाले एउटा अगाडि र एउटा पछाडि गरी २/२ वटा झोला भिरेका थिए । तीमध्ये पहिलो, उत्साही र प्रशन्न थिए । दोस्रो, थकित तर निराश नभएका थिए । तेस्रो, निराश र दुःखी थिए ।

कारण, पहिलोले राम्रो कुरा राखेको झोला अगाडि भिरेका थिए र नराम्रो कुराको झोला पछाडि बोक्नुका साथै सानो प्वाल पनि पारेका थिए । उनी राम्रो कुरा देखेर उत्साही थिए र नराम्रो कुरा झोलामा भएको प्वालबाट खस्दै गएकाले प्रशन्न थिए ।

दोस्रोले अगाडिको झोलामा राम्रा कुरा र पछाडिको झोलामा नराम्रा कुरा बोकेका थिए । पछाडिको नराम्रो कुराको झोलाको भार थेग्न नसकेर उनी थकित थिए तर राम्रो कुराको झोला हेरेर आपूmलाई निराश हुनबाट जोगाएका थिए । 

तेस्रोले नराम्रो कुराको झोला अगाडि र राम्रा कुराको झोला पछाडि बोकेका थिए । उनको आँखा सधै नराम्रो कुरामा पर्दा निराश थिए । साथै राम्रा कुराको झोला पछाडि भिर्दा त्यसको लाभ लिन सकिरहेका थिएनन् । उल्टै सो झोलाको भार थेग्न मुस्किल परेकाले दुःखी थिए । हामी सबैको जीवनको कटू सत्य यही हो । 

संसारका सबैभन्दा सुखी मानिस ती होइनन्, जसले धेरै पाएका छन् । ती मानिस सुखी हुन्, जसले अर्कालाई दिन जानेका छन् । अर्काको पक्षमा काम गर्छन् । आप्mनो हित त्यागेर अर्काको हितको संरक्षण गर्छन् । एउटा नीति कथा अनुसार सधै परोपकारी काममा संलग्न एक २५ वर्षे युवकमा अचानक आफ्नो विवाह कहिले होला र सम्पत्ति जोड्न सकिएला भन्ने जिज्ञासा पैदा भयो । उनले ३ दिन ३ रातको यात्रा पार गरेर अनकन्टारमा कुटी खडा गरेर बसेका ज्ञानी मानिसलाई भेटेर जिज्ञासा शान्त पार्ने निर्णय गरे ।

उनको पहिलो बास १ जना वृद्ध आमाको घरमा भयो । ती आमाकी २० वर्षीया सुन्दरी छोरी थिइन्, जसले एक झोला सुन बोकेर आउनेसँग मात्रै विवाह गर्ने वाचा आमालाई सुनाएकी थिइन् । ती वृद्ध आमाले पाहुना लागेका नवजवानलाई आफ्नो समस्याका जवाफ पनि ज्ञानी मानिससँग सोधिदिन आग्रह गरिन् । युवकले टाउको हल्लाए ।

युवकको दोस्रो दिनको यात्रा आरम्भ भयो । सो रात उनी जोगीको कुटीमा बास बस्न पुगे । ती जोगी पनि विगत १० वर्षदेखि अनिदो रहेछन् । आपूmलाई कसरी निद्रा लाग्छ भनी ज्ञानी मानिससँग सोधिदिन उनले पनि आग्रह गरे । युवाले आग्रह टारेनन् ।

ती युवा तेस्रो दिनको यात्रामा निस्किए । सो साँझ उनी एउटा किसानको घरमा बाँस माग्न पुगे । किसानले पनि सबै कुरा बुझेपछि आफ्नो समस्या खोले । उनको बुवाले मृत्युवरण गर्नुपूर्व घर पछाडि रुख रोप्नु, सुन फल्छ भनेर गाउँलेको अगाडि भनेका रहेछन् तर पटक–पटक रुख रोप्दा पनि सुन नफलेर दिक्क भएका रहेछन् । यसर्थ ती अनकन्टारमा बस्ने ज्ञानी मानिससँग यो कुरा सोधिदिन आग्रह गरेछन् । युवाले नाईनास्ती गरेनन् ।

सो दिन बिहान हिँडेका युवा साँझ ज्ञानी मानिसको कुटीमा पुगे । उनले युवालाई खानपिन गरेर आराम गर्न र भोलि बिहान कुराकानी गर्ने बताए । भोलिपल्ट बिहान ज्ञानी मानिसले ‘कुनै ३ प्रश्न सोध, म उत्तर दिन्छु’ भने । युवालाई फसाद पर्‍यो । कारण, आप्mनो एउटा प्रश्न र ३ रात बास बसेको ठाउँका ३ प्रश्न गरी उनीसँग ४ वटा प्रश्न थिए । युवा परोपकारी भावनाका थिए । तत्कालै उनले आफ्नो स्वार्थ त्यागेर आपूmलाई बास दिने ३ जनाका प्रश्नको उत्तर सोधे । उत्तर पाएपछि खुशी भएर फर्किए । 

फर्किदा पहिलो बास किसान कहाँ पर्‍यो । उनले किसानलाई दुईटा कोदालो ल्याउन आग्रह गरे । घर पछाडि दुवै जनाले बेस्सरी खने । तब किसानको बुवाले राखेको गाडधनरूपी स्वर्ण मुद्रा हासिल भयो । यथार्थमा किसानको बुवाले छोरालाई सांकेतिक अर्थमा रुख रोप्न भनेका थिए । उनले सोचेका थिए, छोराले गहिरो खाल्डो खनी हाल्छ, अनि गाग्री भित्रको मुद्रा फेला पारिहाल्ने छ तर छोरा अल्छी थिए । खासै गहिरो खाल्डो नखनी बिरुवा रोप्थे, जो सर्दैनथ्यो । गाग्रीभरि सुबर्ण मुद्रा देखेर किसान खुशी भए । उनले १ झोला स्वर्ण मुद्रा युवालाई उपहार दिए ।

अर्को दिन युवा किसानको घरबाट निस्किएर राति जोगीको आश्रममा बास बस्न पुगे । ती युवाले जोगीलाई सिरानमा राखिएको स्वर्ण मुद्राले भरिएको झोला फालिदिन र मस्त निदाउन सुझाव दिए । वास्तविकतामा एउटा चोरले बैंकबाट लुटेको स्वर्ण मुद्राले भरिएको झोला जोगीको कुटीमा राख्न दिएर उनी पुलिसबाट जोगिन भागेछन् । उ फर्किएर नआएका कारण जोगीले सुरक्षाका लागि सिरानीमा राखेका रहेछन् र उनको निद हराम भएको रहेछ । जोगीले स्वर्ण मुद्रा भएको झोला किन फाल्नु तिमी लिएर जाऊ भनी तिनै युवलाई दिएछन् ।

ती युवा जोगीको कुटीबाट हिँडेर वृद्ध आमाको घरमा बास बस्न पुगे । आमाले केही सोध्नु पूर्व नै सुन्दरी छोरीले युवालाई झोलामा के ल्याएको भनी सोधिछन् । युवाले स्वर्ण मुद्रा देखाए । तत्कालै ती सुन्दरीले आमातिर फर्किएर म यिनै युवासँग विवाह गर्ने भनिछन् । आमा खुशी भएर अर्को झोलामा के छ नि भनी सोधिछन् । युवाले पुनः झोलाभरि सुनको सिक्का देखाए । तब आमाले धुमधामले विवाह गरेर स्वर्ण मुद्राको उपयोग गरी छोरीज्वाइँको भव्य घरबास बनाइदिएछन् । यसरी युवाले अर्काको सेवा गर्दा आप्mनो लक्ष्य भेट्टाए । प्राकृतिक न्यायको सिद्धान्त यही हो । जसले अर्कालाई हेर्छ, सफलताले उसलाई हेर्छ । 

अन्त्यमा, महाकवि देवकोटाले ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भनेका छन् । यर्थाथमा परिश्रम नगरी फलको आशा गर्नु न्यायोचित हुने कुरै भएन । यसर्थ आफूले चाहेको फल खान, फल टिप्नुपर्छ, झार्नुपर्छ, झटारो हान्नुपर्छ । रुख चढ्नुपर्छ । यसैलाई उत्साह भनिन्छ । जसले फल दिन्छ । जसलाई सफलता भनिन्छ ।

‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’ भन्ने पद्य त्यसै बजनदार ठरिएको होइन । रोमका सेनापति सिजरले जनतामा उत्साह बढाएरै एथेन्स सेनालाई पराजित गरेका थिए । युनेज स्याण्डो दुब्ला र रोगी थिए तर उनी आफ्नो उत्साहका कारण नामूद बडीविल्डर भए । आफूलाई कमजोर ठान्नु महापाप ठानिन्छ । जसको अर्थ हो, कुनै पनि व्यक्तिलाई आप्mनो उत्साह मार्ने स्वतन्त्रता हुँदैन । त्यही भएर भनिन्छ, सफल मानिस त्यो हो, जसले तालुखुइँलेलाई पनि काइँयो बेच्न सक्छ ।

यसर्थ अनुशासन लक्ष्य र सफलता बीचको पुल हो । जसमा उत्साह छ र अनुशासित ढंगले अघि बढ्छ, उसलाई सफलता चुम्ने अधिकार हासिल हुन्छ ।

कृष्णहरि बास्कोटा
कृष्णहरि बास्कोटा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्