२२ असार २०८३, सोमबार

जर्मनीमा प्रतिबन्धको विरोधमा उत्रिएका सयौं गिरफ्तार

भदौ १५, २०७७
जर्मनीमा प्रतिबन्धको विरोधमा उत्रिएका सयौं गिरफ्तार
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा आइतबार जर्मनीको राजधानी बर्लिनको सडकमा उत्रिएका प्रदर्शनकारीलाई पक्राउ गर्दै प्रहरी । तस्बिर : एपी

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्धविरुद्ध जर्मनीमा गरिएको प्रदर्शनमा सयौं प्रदर्शनकारी पक्राउ परेका छन् ।

जर्मनीको राजधानी बर्लिनमा गरिएको प्रदर्शनका क्रममा तीन सय जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तीमध्ये दुई सय जनालाई बर्लिनको एउटा प्रदर्शनबाट पक्राउ गरिएको हो ।

प्रदर्शनकारीहरूको एक जत्थाले जर्मनीको संसद् भवन तोडफोडको समेत प्रयास गरेका थिए । उक्त कदमको राजनीतिज्ञहरूले कडा विरोध जनाएका छन् । बर्लिनका विभिन्न स्थानमा प्रदर्शनकारीहरू भेला भएका थिए । प्रहरी अधिकारीहरूले दक्षिणपन्थी प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा तथा पानीका बोतल प्रहार गरेको आरोप लगाएका छन् । स्थानीय सञ्चारमाध्यमले प्रदर्शनकारीको भीडमा दक्षिणपन्थीहरूलाई समर्थन गर्ने झन्डा तथा टिसर्टहरू देखिएको जनाएका छन् । कतिपय प्रदर्शनकारी बालबच्चासहित विरोधमा उत्रेका थिए ।

सुरक्षा नियमको अवज्ञा गरेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई तितरबितर हुन निर्देशन दिएको थियो । तर नमानेर उल्टै आक्रमणमा उत्रिएपछि उनीहरूलाई नियन्त्रणमा लिन प्रहरी बाध्य भएको अधिकारीहरूको भनाइ छ ।

‘सबै उपायहरू अपनाउँदाअपनाउँदै पनि आफूहरूसँग प्रदर्शनकारीलाई पक्राउ गर्नुको विकल्प रहेन,’ बर्लिन प्रहरीले ट्वीटरमा लेखेको छ । सो क्रममा सात जना प्रहरी अधिकारी घाइते भएका बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रतिबन्धको विरोध गर्दै ४० हजार जनाभन्दा बढी बर्लिनका सडकमा उत्रिएका थिए । त्यस्तै अर्को स्थानमा करिब ३० हजार जना भेला भएका थिए । तर उक्त प्रदर्शन भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको बीबीसीले उल्लेख गरेको छ ।

भाइरस नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरूले जर्मनीको संविधानमा सुनिश्चित गरिएका आधारभूत अधिकार र स्वतन्त्रताको उल्लंघन गरेको प्रदर्शनकारीहरूको भनाइ छ । उनीहरू त्यस्ता प्रतिबन्ध फिर्ता लिई आफूहरूलाई निर्बाध स्वतन्त्रता उपभोग गर्न दिनुपर्ने बताउँछन् । जर्मनी कोरोना भाइरस रोकथाम, नियन्त्रण, पहिचान र उपचारका उपायहरू निकै प्रभावकारी रूपमा लागू देशहरूमध्येमा पर्छ । भाइरसका कारण हुने मृत्युदर पनि जर्मनीमा निकै न्यून छ ।

भाइरसको संक्रमण फैलिएसँगै जर्मनीमा लगाइएको प्रतिबन्ध अप्रिल महिनामा केही खुकुलो पारिएको थियो । तर संक्रमितको संख्या केही बढेपछि पुनः प्रतिबन्धहरू कडा पारिएको हो ।

जर्मनीका १६ वटा राज्यले सार्वजनिक स्थानमा मास्क लगाउनुपर्ने नियम जारी गरेका छन् । उक्त नियम उल्लंघन गर्नेलाई कम्तीमा ५९ डलर जरिवाना गर्ने बताइएको छ । त्यसैगरी, सार्वजनिक कार्यक्रम गर्न लगाइएको प्रतिबन्ध यस वर्षको अन्त्यसम्मका लागि बढाइएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलले जाडोयाममा संक्रमणको चुनौती बढ्न सक्ने बताएकी छन् । उनले प्रतिबन्धहरू कडा पार्दै त्यसलाई पालना गर्नुको कुनै विकल्प नरहेको बताइन् । ‘हामी अझै लामो समयसम्म भाइरससँगै बाँच्नैपर्छ । यो अझै गम्भीर छ,’ मर्केलले भनिन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण जर्मनीमा आइतबार साँझसम्म २ लाख ४२ हजार ८ सय ३५ जना संक्रमित भइसकेका छन् र ९ हजार २ सय ९७ जनाको मृत्यु भएको छ ।

जर्मनीमा जस्तै युरोपका अन्य केही देशमा पनि विरोध प्रदर्शनहरू गरिएका छन् । बेलायत, फ्रान्स स्विट्जरल्यान्ड तथा अस्ट्रियाका विभिन्न सहरमा पनि भाइरस नियन्त्रण गर्न लगाइएका प्रतिबन्धको विरोधमा प्रदर्शनहरू भएका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्