
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार मात्रले पार्टी नबन्ने र विधि मात्रैले पनि पार्टी नबन्ने उल्लेख गरेका छन् ।
सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रचण्डले सामाजिक सञ्जाल ट्वीटरमा सोमवार एक सन्देश लेख्दै पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन भएको उल्लेख गरेका हुन् ।
‘पार्टी भनेको विचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिस्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो,’ प्रचण्डको आधिकारिक ट्वीटर ह्याण्डलमा लेखिएको छ ।
प्रचण्डको ट्वीट के सन्दर्भमा आएको र कसप्रति लक्षित भन्ने उल्लेख छैन । असारमा शुरू भएको पार्टी भित्रको विवाद अहिले मत्थर भएको छ । महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलले नेकपा विवाद समाधानका लागि रोडम्याप प्रस्तुत गरेपछि लामो समय चलेको अन्तरकलह साम्य हुने चरणमा छ ।
कार्यदलको प्रतिवेदन अनुमोदन गर्न भदौ १३ गते बस्ने भनिएको सचिवालय बैठक भदौ १८ सम्मका लागि सरेको छ ।
सचिवालय बैठकअघि प्रचण्डको यस्तो ट्वीटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।