
सीपी गजुरेल नेतृत्वको देशभक्त जन गणतान्त्रिक मोर्चाले स्वयंसेवी संस्थाहरूद्वारा वितरण गरिएको खाना खान खुलामञ्चमा आएका भोका जनतालाई नजिकै धुमधाम साथ मनाइएको संविधान दिवसमा डिस्टर्ब हुन्छ भनेर प्रहरीले लखेटेको भन्दै आपत्ति जनाएको छ ।
मोर्चाले सो दृश्य देख्दा कसको मन नरोला ? र भन्दै प्रश्न समेत गरेको छ ।
शनिबार संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत सहभागीलाई डिस्टर्ब हुन्छ भन्दै खुलामञ्चमा खाना खान आएकालाई लखेटिएको समाचार बाहिर आएको थियो ।
मोर्चाले आइतबार एक विज्ञप्तिमार्फत ‘मर्न आँटें उपचार पाऊँ !’ भन्दाभन्दै पनि उपचार नपाएको उल्लेख गर्दै भनेको छ, ‘सामान्य मागलाई लिएर सडकमा उभिएका जनतामाथि प्रहरीले बजारेको लाठीको घटनाले यो संविधान जनताको होइन रहेछ भन्ने कुराको सर्वत्र चर्चा चलेको छ । विश्वका झण्डै २०० भन्दा बढी देशमा महामारीका रूपमा फैलिएको महाव्याधि कोरोनाको उपचार अब आइन्दा सरकारले नगर्ने, बिरामी आफैंले गर्नुपर्ने भन्ने निर्लज्ज र चरम गैरजिम्मेवार फरमान् जारी गर्दैछ, यो सरकार ।’
संसद्मा पारित हुनबाट जोगिएको एम.सी.सी. सम्झौतामा अमेरिकी सरकार थोरै पछि हटेको देखाएर संसद्को आगामी अधिवेशनबाट पारित गराउने खतरा देखिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
यावत विषयमा सरकारलाई दबाब दिनका लागि अर्को जनआन्दोलनमा उत्रनु शिवाय अन्य कुनै विकल्प नभएको भन्दै मोर्चाले त्यसका लागि तयार हुनुपर्ने बेला आएको बताएको छ ।