मलेसियामा नेपालीलाई बन्धक बनाई १६ लाख असुली, काठमाडौंको रोडमा हिँड्दै गर्दा प्रहरीको फन्दामा

मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन सञ्चालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका- ३ स्थित सडकबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

दुर्गाको योजनामा उनकै श्रीमती धनमाया श्रेष्ठ तथा चालक श्याम नेपालीले मलेसियामै काम गर्ने दाङ पहरुवा बस्ने एक व्यक्तिलाई अपहरण गरी ७ दिन बन्धक बनाएका थिए ।


Advertisement

ती व्यक्तिकी श्रीमतीलाई मलेसियाका विभिन्न नम्बरबाट फोन गरी दुर्गाको नाममा रहेको हिमालयन बैंक लिमिटेडको खातामा मलेसियन ६० हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने समेतका धम्की दिई फिरौती बापत १५ लाख ९२ हजार रुपैयाँ दुर्गाको खातामा पटक–पटक गरी जम्मा गरेपछि अपहरित व्यक्तिलाई अपहरणमुक्त गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको थियो ।

थप अनुसन्धान गर्ने क्रममा दुर्गाले पीडितलाई राहदानी कब्जामा गरी नेपाल आउन समेत नदिई अघोषित रूपमा हालसम्म पनि बन्धक जस्तै बनाई राखेको तथा दुर्गा नेपाल आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले दुर्गालाई काठमाडौं महानगरपालिका- ३ कान्ति बाल अस्पताल नजिक सडकमा बा.१४ च २११२ नम्बरको जिपमा पानीपोखरीतर्फ गइरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।


Advertisement

दुर्गाले मलेसियामा काम गर्न गएका नेपाली कामदारलाई धम्क्याई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने गरेको खुल्न आएको उक्त ब्यूरोले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्