
५ नम्बर प्रदेशको स्थायी राजधानी दाङ कायम गर्न प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा सोमवारबाट छलफल हुँदैछ ।
प्रदेशसभा बैठक १२ बजेका लागि बोलाइएको छ । प्रस्ताव उपर संशोधन गर्न १८ घण्टाको समय राखिएको छ । सामान्यतया विधेयकका लागि भने संशोधन प्रस्तावका लागि ७२ घण्टाको समय दिइने प्रचलन छ ।
राजधानी र नामाकरणको प्रस्तावमाथि संशोधन गर्न छोटो समय निर्धारण गरिएको छ । प्रस्तावउपर सोमवार संसदमा सबै दलका सांसदले आ–आफ्ना धारणा राख्नेछन् ।
राजधानी र नामकरणको प्रस्ताव पारित गर्नका लागि निर्माण गरिएको आन्तरिक कार्यविधि २०७७ मा प्रस्तावमाथि छलफल समाप्त भएको १८ घण्टाभित्र चित्त नबुझेका प्रदेशसभा सदस्यले संशोधन पेश गरिसक्नुपर्ने नियम बनाइएको छ । छलफल सकिएपछि सयम गणना शुरू हुनेछ ।
गत शुक्रवार प्रदेश सरकारको तर्फबाट स्थायी राजधानी दाङको भालुवाङ्ग (देउखुरी) र नाम लुम्बिनी राख्ने गरी प्रदेश सभामा आन्तरिक मामिला कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव पेश गरेका छन् । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले निर्धारित समयपछि संशोधन प्रस्ताव आए पनि दर्ता नहुने बताए । ३ दिनभित्र राजधानी र नामकरणको प्रस्ताव टुंग्याउने गरी प्रदेशसभा जुटेको छ ।
प्रस्ताव पारित गर्न पक्षमा दुईतिहाइ सांसदको मत चाहिन्छ । त्यो भनेको ५८ जना सांसद पक्षमा हुनुपर्छ । प्रदेशसभा ८७ सदस्यीय छ । नेकपा आफ्ना सबै सांसदलाई संशोधन प्रस्ताव नराखी दाङको पक्षमा मतदान गर्ने मुख्यमन्त्री तथा नेकपा प्रदेश इन्चार्ज शंकर पोखरेलले निर्देशन गरिसकेका छन् ।
प्रदेश सभामा नेकपामा ६१ सांसदले प्रस्तावको पक्षमा मतदान गर्ने प्रस्ताव सजिलै पारित हुनेछ । तर साविक लुम्बिनी अञ्चलका नेकपाका १४ सांसदले संसदीय दलको बैठकमा फरक मत राखेका छन् । पार्टीले ह्वीप जारी गर्ने निश्चित जस्तै छ । ह्वीप जारी गरे नेकपामा १४ फरक मत राख्ने सांसदले पनि निर्णय मान्नुपर्ने सम्भावना छ ।
संविधान अनुसार सरकारले पेश गरेको राजधानी र नामकरण सम्बन्धी प्रस्ताव प्रदेश सभाको दुईतिहाइ बहुमतले पारित हुनुपर्ने प्रावधान छ । सभामा नेपाली कांग्रेस १९, संघीय समाजवादी पार्टीका ६ र राजमोका १ सदस्य छन् । कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरू पनि विभाजित जस्तै छन् । साविक लुम्बिनी अञ्चलका सांसद बुटवल राजधानी हुनुपर्ने अडानमा छन् भने साविक राप्ती र भेरी अञ्चलका सांसदहरू प्रदेश सभामा प्रस्ताव पेश हुँदाको दिन नै स्वागत गरेर दाङको पक्षमा मतदान गर्ने संकेत दिइसकेका छन् ।
साविक लुम्बिनी अञ्चलबाट प्रदेश सभामा ५१ जना सांसदको प्रतिनिधित्व छ भने साविक राप्ती र भेरीबाट ३६ सांसदको प्रतिनिधित्व छ । स्वतन्त्र रूपमा मतदान गर्न पाउने हो भने लुम्बिनीका सांसदको चाहना दाङको पक्षमा देखिँदैन । प्रदेशसभा सचिवालयले मतदानका लागि आवश्यक सम्पूर्ण तयारी गरिएको छ ।
सोमवार बुटवलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालयले १ हजारभन्दा बढी प्रहरी परिचालन गरेको जनाएको छ । बुटवलका संघसंस्थाले राजधानी सार्न नहुने भनेर संसद भवन घेराउ गर्ने तयारी गरेका छन् ।