२२ असार २०८३, सोमबार

पक्राउ गरिएका नेपालीबारे भारतले जानकारी दिएन

असोज ३०, २०७७
पक्राउ गरिएका नेपालीबारे भारतले जानकारी दिएन
तस्वीर सौजन्य : कान्तिपुर दैनिक

दिल्ली प्रहरीको विशेष इकाइले गत सेप्टेम्बर १९ (असोज ३) मा पत्रकार सम्मेलन गरेर भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य सूचना विदेशीलाई दिएको आरोपमा पत्रकार राजीव शर्मालाई पक्राउ गरेको औपचारिक जानकारी दियो ।

ती गोप्य सूचना प्राप्त गर्न शर्माका ‘मतियारको भूमिका खेलेका’ दुई विदेशीलाई पनि पक्राउ गरिएको प्रहरीले सुनायो । पक्राउ परेका दुई विदेशीमा क्विङ सी नामकी चिनियाँ महिला र उनका सहयोगी नेपाली नागरिक राज भनेर चिनिने शेरसिंह बोहरा भनी खुलाइएको थियो । उनीहरूमाथि भारतविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दायर गरिएको छ । आरोप पुष्टि भए सरकारी गोपनीयता कानुनबमोजिम १४ वर्षसम्म कैद हुन सक्छ ।

दिल्ली प्रहरीको विशेष सेलले अन्य मुलुकका लागि सुराकी गरेको भन्दै पत्रकार शर्मालाई सेप्टेम्बर १४ मा पक्राउ गरेको थियो । उनीमाथि चिनियाँ जासुसहरूलाई गोप्य सूचना पुर्‍याएको आरोप लगाएको थियो । शर्मालाई चिनियाँ पत्रिका ग्लोबल टाइम्सलाई समाचार पठाउने नाममा सीमा सुरक्षासम्बन्धी संवेदनशील जानकारी दिएको आरोप लगाइएको छ । कर छल्न खोलिएका एमजेड फार्मेसी र एमजेड मल्स नामका दुई सेल कम्पनीबाट शर्मालाई समाचारको भुक्तानी हुँदै आएको प्रहरीको दाबी छ ।

दिल्ली प्रहरीका अनुसार ती दुई कम्पनीमध्ये औषधि सप्लायर्स कम्पनीका सञ्चालक बोहरा थिए । कम्पनीको सबै कारोबार दिल्लीको महिपालपुरस्थित कार्यालयबाट हुँदै आएको प्रहरीको भनाइ छ । बोहरालाई सुरुमा १४ दिन दिल्ली प्रहरी हिरासतमा राखिएको थियो । पछि अदालतको अनुमति लिएर उनलाई थप अनुसन्धानका लागि भन्दै तिहाड जेलमा राखिएको छ ।

कान्तिपुरलाई प्राप्त दस्तावेजअनुसार २५ वर्षीय बोहराको खास नाम शेरबहादुर बोहरा हो । उनी कञ्चनपुर जिल्लाको लक्ष्मीपुर निवासी हुन् । पारिवारिक स्रोतका अनुसार उनी आठ वर्षदेखि दिल्लीमा बस्दै आएका थिए । उनले डेढ वर्षअघि विवाह गरेकी श्रीमती गाउँमै बस्छिन् । बोहरा पक्राउ परेको केही दिनमै उनकी श्रीमतीले छोरी जन्माएकी थिइन् । सुरुमा पर्यटकलाई गाडीमा घुमाउने गरेका उनी दुई वर्षदेखि चिनियाँ कम्पनीमा आबद्ध थिए । दिल्ली प्रहरीले उनलाई कम्पनीको निर्देशक भएको दाबी गरे पनि उनको काम सामान्य कर्मचारीको मात्र रहेको परिवारको दाबी छ ।

दिल्ली प्रहरीले पत्रकार सम्मेलन गरेर नेपाली नागरिक पक्राउ गरेको बताए पनि भारत सरकारले त्यसको औपचारिक जानकारी दिल्लीस्थित दूतावासलाई दिएको छैन । कूटनीतिक मामिलासम्बन्धी भियना अभिसन्धिअनुसार विदेशी नागरिकलाई कुनै अपराधमा पक्राउ गरिएको छ भने त्यसको जानकारी तत्काल सम्बन्धित मुलुकको दूतावास वा नियोगलाई गराउनुपर्छ । पक्राउ परेका विदेशी नागरिकले मागेको खण्डमा कानुनी परामर्शको सेवा पनि उपलब्ध गराउनुपर्ने व्यवस्था उक्त अभिसन्धिमा छ । भारत र नेपाल त्यसका पक्ष राष्ट्र हुन् ।

भारतको गृह मन्त्रालयले एक वर्षअघि जारी गरेको परिपत्रमा पनि कुनै विदेशी नागरिकलाई हिरासतमा लिनासाथ तत्कालै सम्बन्धित मुलुकको दूतावासको कन्सुलरलाई जानकारी दिनुपर्ने उल्लेख छ । ‘प्रहरीले सार्वजनिक रूपमा नेपाली नागरिकलाई पक्राउ गरेको बताए पनि दूतावासलाई औपचारिक जानकारी आएको छैन,’ दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले भने ।

नेपाल सरकारले पनि आफ्ना नागरिकका विषयमा चासो देखाएको देखिँदैन । जबकि बोहराको परिवारले रिहाइका लागि सरकार, दिल्लीस्थित दूतावास र सम्बन्धित निकायलाई आग्रह गरेको छ । परिवारका तर्फबाट भाइ नरेशले असोज १७ मा कञ्चनपुर जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको बोधार्थ प्रधानमन्त्री कार्यालय, परराष्ट्र र गृह मन्त्रालय, सुदूरपश्चिम मुख्यमन्त्रीको कार्यालय र दिल्ली दूतावासलाई समेत पठाइएको थियो । तर यी कुनै पनि निकायले चासो राखेका छैनन् ।

प्रवासी नेपाली संगठनहरूले भने यस विषयमा सोधपुछ गर्ने गरेका छन् र उनीहरूले नै दूतावासलाई त्यस विषयमा पहल गर्न आग्रह गर्दै आएका छन् । अखिल भारतीय नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले बोहरा पक्राउका सम्बन्धमा दूतावासलाई जानकारी गराएको बताए । ‘दोषी हो भने त यहाँको कानुनअनुसार सजाय होला तर निर्दोष व्यक्ति बिनासर्त तत्काल रिहाइ हुनुपर्छ भन्ने हाम्रो माग हो र त्यसका लागि दूतावासले पनि पहल गर्नुपर्छ,’ उनले भने । उनले बोहरामाथि भारतीय प्रहरीले लगाएको आरोपको निष्पक्ष छानबिनको ग्यारेन्टी हुनुपर्ने मागसमेत गरेका छन् ।

विगतमा पनि भारतीय पक्षबाट दूतावासलाई तत्काल जानकारी गराइएका घटना विरलै छन् । जसले गर्दा समस्यामा परेका नेपालीबारे दूतावास लामो समयसम्म बेखबर हुने गरेको छ । कतिपय घटनाको जानकारी पाए पनि दूतावासले बेवास्ता गरेका उदाहरण पनि छन् । प्रवासमा रहेका नेपाली संगठनहरूले समेत नेपालीसँग सम्बन्धित विषय तथा घटनाबारे भारतीय पक्षले दूतावासलाई जतिसक्दो चाँडो जानकारी गराउनुपर्ने माग गर्दै आएका छन् । ‘भारतीय पक्षबाट नेपाली दूतावासलाई समयमै जानकारी गराए नेपालीले अनावश्यक झमेला र पीडा व्यहोर्नुपर्दैन । यसले दुई देशबीच विश्वासको वातावरण बनाउन पनि सहयोग मिल्छ,’ खड्काले भने । कान्तिपुर दैनिक सुरेशराज न्यौपानेले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्