
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६५औं प्रहरी दिवस २०७७ का अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्याउने विभिन्न महानुभावहरु, उत्कृष्ट लेखकहरु, नेपाल प्रहरी स्मारक गुठीको आजीवन सदस्यता प्राप्त गर्नुहुने महानुभावलाई कदरपत्र तथा पुरस्कार वितरण गरेका छन् ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी नायव निरीक्षक सागर शमशेर जवरालाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गरेका थिए ।
सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायव निरीक्षक सुवाष कटुवाल, उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे लगायत उत्कृष्ट व्यवस्थापकीय कार्य गर्ने, विपद् व्यवस्थापन, उत्कृष्ट ट्राफिक व्यवस्थापन, उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, सपोर्ट समूहतर्फ, कोभिड–१९ बाट संक्रमितको उपचारमा प्रत्यक्ष रुपमा योगदान गर्नुहुने र अन्य प्रहरी कर्मचारी गरी ३७ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरे ।
यसैगरी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समुदाय(प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउने स्थानीय तह अन्तर्गत चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, शैक्षिक संस्थातर्फ पुष्प सदन आवासिय माध्यामिक विद्यालय कीर्तिपुर, संघ संस्थातर्फ ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र ललितपुर, सर्वसाधारण व्यक्तिहरु र पूर्व प्रहरी कर्मचारी समेतलाई कदरपत्र प्रदान गरे ।
यसैगरी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी द्वैमासिक पत्रिकामा २०७६ मा प्रकाशित लेख रचनामध्ये व्यावसायिकतर्फ सुदर्शन अधिकारी र साहित्यिक रचनातर्फ प्रहरी निरीक्षक होमबहादुर थापालाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गरे ।
साथै उनले नेपाल प्रहरी स्मारक गुठीका आजीवन सदस्यता प्राप्त गर्नुहुने प्रहरी नायव उपरीक्षक लाल बहादुर धामी र काठमाडौं महानगरपालिका–१९ का खेमराज खनाललाई कदरपत्र प्रदान गरेका थिए ।
प्रहरीको विकास गर्ने हो भने यसलाई थप व्यावसायिक, प्रविधिमैत्री, जवादेही बनाउनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘हामीले यदि संगठनलाई व्यावसायिक, एकजुट र एकाग्रह बनाउने आँट र्गयौं भने त्यसलाई कसैले रोक्न सक्दैन ।’
संगठनको बिकासको लागि साधन र स्रोत आवश्यक हुने उल्लेख गर्दै उहाँले मानसिक रुपमा आफ्नो जिम्मेवारीतर्फ आँट गरेमा साधन स्रोत बाधकको रुपमा नआउने समेत बताए ।