मुख्यमन्त्रीलाई ओलीको निर्देशन - गुलाबजंग शाहमाथि गरिएको कारवाही फिर्ता गर्नुस् !

फाइल तस्वीर

नेकपा कर्णाली प्रदेश सभाका तत्कालीन प्रमुख सचेतक गुलाबजंग शाहलाई कारवाही गरेर हटाउने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कारवाही फिर्ता लिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले लिखित निर्देशन दिएका छन् ।

कात्तिक ५ गते बुधवारको मितिमा ओलीको विज्ञप्ति आएको हो । विज्ञप्ति भने ७ गते शुक्रवार मात्र बाहिरिएको छ ।


Advertisement

'अनुशासित तवरले प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहनु भएका र मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेकपाका प्रदेश सभा दल कर्णालीका प्रमुख सचेतक श्री गुलाबजंग शाहमाथि तपाईले गरेको कारवाही फिर्ता लिन र उहाँलाई पूर्ववत प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु,' ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको लेटरहेडमा जारी गरिएको विज्ञप्तिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को हस्ताक्षर भने छैन ।


Advertisement

गत भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले पार्टीको जिम्मेवारी प्रचण्डलाई दिने निर्णय गरेको थियो । ओली एक्लैले विज्ञप्ति जारी गरेर स्थायी कमिटीको निर्णय भंग गरेको नेताहरूको बुझाइ छ ।

'अर्का अध्यक्षको सहमतिमा हुनुपर्ने काम ओली एक्लैले गर्नुभएको छ,' एक स्थायी कमिटी सदस्यले भने, 'यो सही भएन । यसले पार्टी एकतालाई अक्षुण राख्ने काम गर्दैन ।'

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्