
ललितपुरको बागमती गाउँपालिकाले सञ्चालन गरेको ‘जनतासँग अध्यक्ष’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
अहिलेसम्म करिब एक सय घरपरिवारका सदस्यले उक्त कार्यक्रमबाट रोजगार पाएका छन् ।
स्थानीय तहको निर्वाचन पछिको गाउँपालिकाको पहिलो गाउँ सभाले नै जनतासँग अध्यक्ष कार्यक्रम ल्याएको थियो । स्थानीय तहका नागरिकलाई व्यावसायिक बनाउने उद्देश्यले ल्याइएको उक्त कार्यक्रमले स्थानीयलाई मकै पिस्ने, कृषि औजार, पशुपालन, किसानलाई अनुदान लगायतका कार्यक्रमबाट व्यावसायिक बनाइएको छ ।
प्रत्यक्ष रूपमा एक सय घरपरिवार लाभान्वित बने पनि अप्रत्यक्ष रूपमा करिब पाँच सय नागरिक लाभान्वित बनेको गाउँपालिकाले जनाएको छ । “जनतासँग अध्यक्ष कार्यक्रम गाउँका नागरिकलाई व्यावसायिक र सक्षम बनाउने कार्यक्रम हो”, गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले भने, “यो कार्यक्रम स्थानीय नागरिकको सुखदुःखको साथी बनेको छ । ”
पशुपालन र कृषि कार्यका लागि बैङ्कबाट ऋण लिएका किसानलाई भने ५० प्रतिशत ब्याजमा गाउँपालिकाले अनुदान दिने, पाँचवटा दुहुनो भैँसीलाई ५० देखि ७५ हजार र पाँचवटाभन्दा माथि भैँसीपालन गर्ने किसानलाई एक लाख रुपियाँसम्म अनुदान दिने व्यवस्था गरिएको छ ।
जनतासँग अध्यक्ष कार्यक्रम प्रभावकारी भएपछि अहिलेसम्म सम्पन्न गाउँपालिकाका तीनवटै गाउँ सभाले यस कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाका अध्यक्ष जनतासँग प्रत्यक्ष जोडिने भएकाले स्थानीय नागरिकको यस कार्यक्रमप्रति आकर्षण बढेको छ ।
विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउने र स्थानीय किसानले पालेका पशुहरूको बीमा गर्ने लगायतका कार्यक्रम जनतासँग अध्यक्ष कार्यक्रमसँग जोडिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष विष्णु तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार विदेशबाट फर्केका युवालाई लक्षित गरी पशुपालन, तरकारी खेती, सिलाइ–बुनाइ लगायतका स्वरोजगारमूूलक कार्यक्रमसमेत गाउँपालिकाले सञ्चालन गरेको छ । प्रत्येक महिना गाउँपालिकाका सातवटै वडामा जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत गाउँपालिकाले गरेका विकास निर्माण, सञ्चालित योजना र बजेट कार्यान्वयनका बारेमा स्थानीय सेवाग्राहीसँग अन्तक्र्रिया गरिने भएकाले जनतासँग अध्यक्ष कार्यक्रम प्रभावकारी बनेको हो ।
“कर्मशील हात, लगनशीलता र दत्तचित्त भएर कर्म गर्ने हो भने बागमती गाउँपालिकाका बासिन्दा रोजगारीका लागि भौँतारिनु पर्दैन”, उनले भने “आफ्नो थोरै लगानीमा गाउँपालिकाले थप सहयोग गर्ने भएकाले स्वदेशमै काम गर्छु भन्नेले खाली बस्नु पर्दैन । ”
जनतासँग अध्यक्ष कार्यक्रमले योजना सञ्चालन, उपभोक्ता समिति गठन र परिचालन, खर्चको सार्वजनिकीकरण र नियमित अनुगमनमा सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिएको गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरेले बताइन् । गोरखापत्र दैनिकमा खबर छ ।