अमेरिकाले लादेको नवउदारवादविरुद्ध लहर बढ्दै

चिलीमा नयाँ संविधानका पक्षमा ७८ प्रतिशत मत पर्नु भनेको सन् १९७३ मा दक्षिणपन्थी सैन्य तानाशाहीले अपनाएको नवउदारवादी व्यवस्थामाथिको कठोर प्रहार हो । चिलीबाट शुरू गरिएको उक्त व्यवस्था अन्य देशमा पनि लागू गर्ने कोशिश अमेरिकाले गरेको थियो । 

देशमा आर्थिक असमानताका विरुद्ध लगभग एक वर्षअघि विरोध प्रदर्शनहरू गरिएका थिए । सन् १९८० मा जनरल अगस्टो पिनोसेको सैन्य तानाशाहीले लागू गरेको नवउदारवादी व्यवस्थासहितको संविधानलाई हटाएर नयाँ संविधानको पक्षमा चिलीवासीहरूले प्रचण्ड बहुमत दिएका हुन् । 


Advertisement

सन् २००७ मा प्रकाशित हूभर इन्स्टिच्युसनको एक पेपरमा रोबर्ट प्याकेनहाम र विलियम र्‍याटक्लिफले लेखे, ‘समाजवाद र चरम राज्यनियन्त्रित पूँजीवादबाट पूर्णरूपमा विच्छेद भएर बजारमुखी संरचना र नीति अपनाउने पहिलो मुलुक पिनोसेको चिली हो ।’

सन् १९७० मा चिलीका मतदाताहरूको समर्थनबाट लोकतान्त्रिक रूपमा निर्वाचित भएका समाजवादी नेता साल्भादोर आयेन्देलाई हटाएर नवउदारवादी व्यवस्था अपनाइएको थियो । वाशिङटनले आयेन्देको उम्मेदवारीलाई लामो समयदेखि अस्तव्यस्त बनाउन खोजेको थियो र चिलीलाई आफ्नो मुट्ठीमा राखेर स्वतन्त्र विकासको बाटोमा जान वा परराष्ट्रनीति अपनाउन नदिनका लागि कोशिश गरेको थियो । 
 


Advertisement

आयेन्दे निर्वाचित भएको पहिलो वर्ष प्रमुख उद्योगहरूलाई राष्ट्रियकरण गरे अनि ज्यालादारीमा नाटकीय वृद्धि भयो । तर अमेरिकाका तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले आक्रामक नाकाबन्दी लगाएपछि चिलीको अर्थतन्त्रमा ठूलो आघात पुग्यो । सन् १९७३ मा महंगी १५० प्रतिशतले बढ्यो र आयेन्दे सरकारलाई गम्भीर रूपमा आन्तरिक दबाब पर्न थाल्यो । त्यसै वर्षको सेप्टेम्बर महिनामा सीआईएको समर्थनमा सैन्य कू गरिएपछि सेनापति जनरल पिनोसे सत्तामा आए । 

सन् १९५० को दशकमा उदारवादी व्यवस्थाका प्रणेता मिल्टन फ्राइडम्यान तथा उनका चेला आर्नोल्ड हार्बर्गरले चिलीका विद्यार्थीहरूलाई शिकागो विश्वविद्यालयमा पढाएका थिए । उनीहरूलाई शिकागो बोइज भनिन्थ्यो । उनीहरूले नै पिनोसेको आर्थिक नीति निर्माण गरे जसले गर्दा अभूतपूर्व असमानता देखिन थाल्यो । सन् १९८० मा उनीहरूले नै संविधान बनाउन योगदान गरे । 
 

चिलीको इतिहासको यो खण्डमा फ्राइडम्यान र उनका समकालीनहरूको सैद्धान्तिक कार्यको सामाजिक परीक्षण गरियो । यसले दीर्घकालीन आर्थिक वृद्धि गर्ने र यसबाट उत्पन्न हुने सम्पत्ति कामदारहरूसम्म पुग्ने प्रतिबद्धता व्यक्त गरियो । 

यस्ता नवउदारवादी नीतिहरूले यी लक्ष्य हासिल गरेको विषयमा विद्वानहरूमा मतभिन्नता छ । दक्षिण अमेरिकी मुलुकहरूमध्ये चिलीमा तुलनात्मक रूपमा राम्रो आर्थिक सफलता हासिल हुनुमा यसैको योगदान छ भन्ने केहीको मत छ भने अन्यले चाहिँ यी नीतिका कारण समाजमा गहिरा विभाजनहरू आएको बताउने गरेका छन् । 

यी नीतिहरू विफल भएको त सन् १९८२ मै देखियो । त्यतिखेर देशमा गम्भीर आर्थिक संकट आयो र कुल गार्हस्थ्य उत्पादन १४.३ प्रतिशतले ओरालो लाग्यो अनि बेरोजगारी दर बढेर २३.७ प्रतिशत पुग्यो । सन् १९८० को दशकमा दक्षिण अमेरिकामा ऋणको संकट यसको कारक भएको भनी केहीले भन्ने गरेका छन् तर यस समयमा चिलीको आर्थिक मन्दी अरूको भन्दा भयानक थियो र त्यसका लागि नवउदारवादी व्यवस्था जिम्मेवार थियो । 

यो संकट अन्त्य भएपछि अनि देशको आर्थिक वृद्धिले अन्य मुलुकलाई पनि उछिनेपछि फ्राइडम्यानले यसलाई चिलीको चमत्कार नाम दिए । तर सन् १९९० देखि २०१० सम्म वामपन्थी सरकारले ल्याएको नवउदारवादको कम कठोर संस्करण र एक प्रकारको मिश्रित प्रणालीले यो वृद्धि हासिल गराएको थियो । 

आर्थिक वृद्धि बढेको र असमानता केही हदसम्म घटेको भए पनि चिली दक्षिण अमेरिकाको सबभन्दा बढी असमानता भएको मुलुक हो र अहिलेको नीतिले यसलाई सम्बोधन गर्न खासै सकेको छैन । गरीबी अझै विद्यमान छ, जीवनयापनको खर्च बढेको छ र नयाँ सम्पत्तिको अधिकांश भाग धनाढ्यहरूले नै लैजाने गरेका छन् । चिलीको असमानता प्रणालीकै एक अंग हो भन्नेमा मतदाताहरू ढुक्क छन् । 
 

पिनोसेको अन्त्यपछि आएको लोकतन्त्रले नवउदारवादी व्यवस्थालाई क्षीण बनाउँदै लग्यो । चिलीमा अझै पनि प्रतिक्रियावादी शक्तिहरू विद्यमान छन् र नयाँ संविधान कस्तो हुनेछ हेर्नै बाँकी छ । यस्ता शक्तिहरूले नयाँ संविधानमा पनि त्यस्तै वा त्यसभन्दा कठोर नवउदारवादी व्यवस्था राख्न सक्छन् तर आइतवारको जनमतसंग्रहले नवउदारवादविरुद्धको अभियान सफल भएको देखाएको छ । समाजवादीहरूको अभियान सफल भएकाले नयाँ संविधानमा उनीहरूको मत हावी हुने देखिन्छ । 
 

नवउदारवादविरुद्धको विश्वव्यापी आन्दोलनले दक्षिण अमेरिकाका दुई ठाउँमा हालैको समयमा विजय हासिल गरेको छ ः आइतवार चिलीमा संविधान प्रतिस्थापन गर्नेसम्बन्धी जनमतसंग्रह र अक्टोबर १८ मा बोलिभियाको चुनावमा मुभमेन्ट फर सोसियलिजम तथा लुइस आर्सेको विजय । पहिलोले नवउदारवादलाई पूर्णरूपमा बहिष्कार गरेको देखाएको छ भने दोस्रोले नवउदारवादका लागि बाटो बनाउने सन् १९७३ को कूलाई दोहोर्‍याउने स्थिति अब नबन्ने देखाएको छ । 

अमेरिकाको समर्थनप्राप्त जीनाइन आनेजको अन्तरिम सरकारले बोलिभियामा गर्न खोजेको काम र पिनोसे सरकारले चिलीमा गरेको काम लगभग उस्तै हुन् । 

सन् १९७० को दशकदेखि नवउदारवाद संसारको प्रमुख आर्थिक तथा विचारधारात्मक प्रतिमान रहेको छ तर चिलीमा विरोधकर्ताहरूको एक नाराले भने झैं, ‘नवउदारवाद चिलीमा जन्मेको हो र चिलीमै मर्नेछ’ ।
 

चिलीको नयाँ संविधानले संसारको आगामी विचारधारात्मक दिशा कस्तो हुनेछ भनी देखाउन सक्नेछ जसरी सन् १९८० मा चिलीमा देखिएको थियो । 
 

आरटीमा प्रकाशित ब्राडली ब्लांकेनशिपको विश्लेषण

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्