२१ असार २०८३, आइतबार

दोस्रो राष्ट्रव्यापी लकडाउन गर्दै बेलायत

कात्तिक १६, २०७७
दोस्रो राष्ट्रव्यापी लकडाउन गर्दै बेलायत

कोभिड–१९ को संक्रमणदर तीव्ररूपमा वृद्धि हुँदै गएपछि बेलायत सरकारले इंग्ल्यान्डमा एक महिना लामो राष्ट्रव्यापी लकडाउन घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमस अघि खुकुलो गर्ने गरी सोमबार लकडाउन घोषणा गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री जोन्सनले नयाँ परिस्थितिबारे छलफल गर्न शनिबार दिउँसो मन्त्रिपरिषद्को आकस्मिक बैठकसमेत गरेका छन् । बीबीसीका अनुसार घरैमा बस्न निर्देशन दिइने उक्त घोषणा सोमबार हुनेछ तर स्कुल, कलेज र विश्वविद्यालयमा नयाँ नियम लागू नहुने जनाइएको छ ।

बीबीसीले प्राप्त गरेको एक दस्तावेजमा बेलायतमा थप प्रतिबन्ध लागू नगरिए यहाँ अघिल्लो पटकभन्दा बढी मानिसको मृत्यु हुने सुझाइएको छ । उक्त दस्तावेजमा अहिलेकै अवस्था कायम रहे दैनिक मृत्युदर ४ हजारभन्दा बढी हुन सक्ने उल्लेख छ ।

पहिलोपटक बेलायतमा दैनिक १ हजारसम्म मानिसको मृत्यु भएको थियो । बेल्जियम, फ्रान्स र जर्मनीमा लकडाउन घोषणा भएपछि युरोपमा सबैभन्दा प्रभावित ब्रिटेनले संक्रमण नियन्त्रणको प्रयास स्वरूप दोस्रो लकडाउन विकल्प रोज्न लागेको हो ।

लकडाउनले जनताको जीवन, जीविकोपार्जन, स्वास्थ्यलगायत क्षेत्रमा ठूलो असर पर्न सक्ने भन्दै सरकार लकडाउनको पक्षमा नभए पनि उसलाई वैज्ञानिक सल्लाहकारहरूको चर्को दबाब थियो ।
सरकारको प्यान्डामिक मोडलिङ ग्रुप एसपीआई एमले तयार पारेको दस्तावेज प्रधानमन्त्रीले अध्ययन गरिसकेका बताइएको छ । मध्य डिसेम्बरसम्म अस्पतालमा बिरामीको चाप र मृत्युदर उत्कर्षमा पुग्ने र यो क्रम कम्तीमा डिसेम्बर अन्त्यसम्म रहने दस्तावेजको अनुमान छ ।

वैज्ञानिक सल्लाहकारहरूको समूह सेज ग्रुपले इंग्ल्यान्डमा यसअघि सोचिएको खराब अवस्थाभन्दा छिटो संक्रमण बढिरहेको र जाडो यामका बेला कम्तीमा ८५ हजार जना मानिस मर्न सक्ने अनुमान गरिरहँदा नयाँ तथ्य आएको हो ।

उता, सरकारी अधिकारीहरूलाई सम्प्रेषण गरिएको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) इंग्ल्यान्ड मोडलिङमा आधारित अर्को दस्तावेजमा एनएचएसले क्रिसमसका बेला थप कोभिड बिरामी लिन नसक्ने चेतावनी दिइएको छ । आपत्कालीन उपचारका लागि बनाइएका नाइटिङ्गेल अस्पतालहरू उपयोग गरिएमा र अति जरुरीबाहेकका बिरामीहरूको उपचार रद्द गरिए पनि एनएचएसले थेग्न नसक्ने उल्लेख छ ।

दक्षिण पश्चिम इंग्ल्यान्ड र मिडल्यान्डमा सबैभन्दा पहिले १५ दिनभित्रै सेवा प्रभावित हुने जनाइएको छ । केही दिनअघि मात्र इंग्ल्यान्डमा कोरोनाबाट दैनिक झन्डै लाख मानिस संक्रमित भइरहेको एउटा अध्ययनले देखाएको छ ।
इम्पेरियल कलेज लन्डनले गरेको अध्ययनले बेलायतमा महामारीको गति तीव्ररूपमा बढिरहेको र प्रत्येक ९ दिनमा यो संख्या दुई गुणाले बढ्ने गरेको उल्लेख छ । हाल दैनिक झन्डै १ लाख जनामा कोरोना संक्रमण फैलिरहेको कलेजको अनुसन्धानले देखाएको छ । ‘अहिलेको अवस्था निकै जटिल छ र यो स्थितिमा चाँडै परिवर्तन गरिनुपर्छ’, अध्ययनले सुझाएको छ ।

विशेषज्ञहरूले यदि अहिलेकै संक्रमण दर जारी रहने हो भने इंग्ल्यान्डमा नोभेम्बर अन्त्यसम्ममा प्रत्येक दिन १० लाखभन्दा बढी मानिस संक्रमित हुन सक्ने चेतावनी दिएका छन् । कोरोनाको दोस्रो लहरमा अस्पताल भर्ना हुने र मृतक संख्यामा उल्लेखनीय रूपमा वृद्धि हुन सक्ने कलेजले बताएको छ । युरोपमा कोरोना संक्रमणको प्रमुख केन्द्र बनेको बेलायतमा गत मंगलबार एकै दिन ३ सय ६७ जनाको मृत्यु भएको थियो जुन मे २७ यताकै सबैभन्दा उच्च हो ।
बेलायतमा शुक्रबार २४ घण्टाभित्र २४ हजार ४ सय ५ जना संक्रमित भेटिए भने २ सय ७४ जनाको मृत्यु भएको छ । हालसम्म यहाँ कोभिडका कारण ४६ हजार २ सय २९ जनाको निधन भइसकेको छ भने ९ लाख ९० हजारभन्दा बढी संक्रमित भएका डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयरले जनाएको छ ।

इंग्ल्यान्डको लिभरपुल, म्यानचेस्टर, वेस्ट योर्कसायर क्षेत्रमा संक्रमण उच्च वृद्धि भएपछि सरकारले टियर थ्रीअन्तर्गत थप प्रतिबन्धहरू लागू गरेको छ । इंग्ल्यान्डको कुल जनसंख्यामध्ये ५८ प्रतिशत जनता सरकारी लकडाउनको मारमा रहेका बताइएको छ ।

बेलायतस्थित जनस्वास्थ्यविद् डा. विभु पौड्याल कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने देखिएको बताउँछन् ।

पौड्यालले सतर्कता अपनाउनु नै भाइरसबाट बच्ने उत्तम उपाय भएको बताए ।

बेलायतमा कोरोना भाइरसको दोस्रो लहर आइरहँदा बेलायतस्थित नेपाली समुदायलाई लक्षित गरी नेपाल पत्रकार महासंघ यूके शाखाले जनस्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम ‘स्वास्थ्य संवाद’ सञ्चालन गर्ने भएको छ । शाखाले नेप्लिज डक्टर्स एसोसिएसन यूके, नेप्लिज नर्सेज एसोसिएसन यूके र गैरआवासीय नेपाली संघ यूकेको स्वास्थ्य समितिसँग मिलेर सो संवाद सुरु गर्ने निर्णय गरेको हो । अघिल्लोपटक कोरोनाबाट बेलायतमा विशेषगरी भूपू गोर्खा र तिनका परिवार बढी प्रभावित भएका थिए । यहाँ करिब ६ दर्जन नेपालीको ज्यान गइसकेको छ ।

सन्त्रासबीच खोपको आशा
ब्रिटेनमा कोरोना संक्रमण उल्लेख्य वृद्धि भइरहँदा यसविरुद्धको खोप पनि छिट्टै तयार हुन लागेको समाचार प्रकाशमा आएका छन् । खोप विकास अन्तिम चरणमा पुगेको बताउँदै केही उत्पादक कम्पनीहरूले क्रिसमसअघि वितरणका लागि तयार भइसक्ने दाबी गरेका छन् । बेलायत सरकारले खोप विकास नहुँदै करिब ३४ करोड डोज किन्न सम्झौता गरिसकेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका खोप छिट्टै आउने विश्वास गरिएको छ । फर्मास्युटिकल जाइन्ट बायोएनटेक र फाइजर, भल्नेभा, जेनसिन र नोभाभ्याक्स, जीएसके र सानोफी पास्चर्सजस्ता कम्पनी पनि खोप विकासको अन्तिम परीक्षणमा रहेका बताइएको छ । कान्तिपुर दैनिकमा नवीन पोखरेलले खबर लेखेका छन् । 

कमेन्ट गर्नुहोस्