नेपाल र भारतका परराष्ट्र सचिव स्तरीय बैठक काठमाडौंमा शुरू भएको छ ।
राजधानीको दरबारमार्गस्थित याक एण्ड यती होटलमा सचिव स्तरीय बैठक शुरू भएको हो ।
वार्तामा नेपालको तर्फबाट परराष्ट्र सचिव भरत पौड्याल र भारतको तर्फबाट बिहीवार काठमाडौं आएका विदेश सचिव हर्षवर्द्धन शृंगलाले नेतृत्व गरेका छन् । बैठकमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा समेत सहभागी छन् ।
भारतले गत वर्ष नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा प्रकाशित गरेपछि २ देशबीच कूटनीतिक सम्बन्धमा चिसोपना आएको थियो । त्यसपछि अतिक्रमित भूमि समेटेर नेपालले नयाँ नक्सा प्रकाशित गरेको थियो ।
परराष्ट्र सचिवस्तरीय वार्तामा नेपालले अतिक्रमित भूमि, सीमा समस्या लगायतका कुरा उठाउने तयारी गरेको छ । २ देशबीच कूटनीतिक सम्बन्धमा चिसोपना आएको समयमा शुरू भएको परराष्ट्र सचिवस्तरीय वार्तालाई महत्त्वका साथ हेरिएको छ ।
काठमाडौं उत्रिएपछि विमानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिँदै भारतीय विदेश सचिव शृंगलाले नेपाल–भारत सम्बन्ध बलियो रहेको बताएका थिए । उनले नेपाली भाषामै सम्बोधन गरेर मन जित्ने कोसिस गरेका थिए ।
लोकान्तर संवाददाता