
बेलायतमा गएको २४ घण्टाको अवधिमा कोरोना भाइरसबाट थप ५७ हजार ७ सय २५ पुष्टि भएको छ । एकैपटक यति धेरै केस आएपछि बेलायतका जनता त्रसित बनेका छन् ।
क्रिसमस अघि यहाँ देखिएको नयाँ स्ट्रेनको कोरोना भाइरसको संक्रमण अहिले कैयौं देशमा पुगिसकेको छ ।
लण्डनमा कडा लकडाउन भए पनि एकैपटक यति धेरै संक्रमितको संख्यामा कसरी बृद्धि भयो भन्ने कुरा भने आश्चर्यमा पार्ने खालको छ ।
महामारीको वर्तमान स्थितिलाई लिएर प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनमा अझै कडाइ गर्ने निर्देशन दिइसकेका छन् ।
कोरोनाको नयाँ स्ट्रेन भेटिएपछि यहाँका जनता एकदम त्रसित बनेका छन् । ब्रिटेनको स्वास्थ्य मन्त्रालयका अनुसार लगातार पाँच दिनसमम दैनिक संक्रमण दर ५० हजार भन्दा पनि बढी पाइएका छन् ।
दुई साता अघिसम्मको अवस्था हेर्दा यो दुई गुणा बढी हो । सरकारी तथ्यांक अनुसार २८ दिनको अवधिमा यहाँ ४४५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।
जोनसन सरकारले नयाँ स्ट्रेनको फैलावट रोक्न भरपुर प्रयास गरिरहेको छ । स्थानीय निकायले पनि आफ्नो तर्फबाट कोशिस गरिरहेका छन् ।
तर, यति हुँदा हुँदै पनि यहाँ कोरोना संक्रमणको दर अनियन्त्रित हुँदै गएको छ ।