अमेरिकाले चीनमाथि लगातार दबाब दिने क्रममा अमेरिकी संसद्ले तिब्बतीहरूलाई थप सहयोग गर्ने विधेयक पारित गरेको छ । टिबेटन पोलिसी यान्ड सपोर्ट याक्टलाई अमेरिकाका दुवै सदनले पारित गरेका छन् ।
विधेयकले दलाई लामाको उत्तराधिकारका विषयमा हस्तक्षेप गर्ने चिनियाँ अधिकारीहरूमाथि आर्थिक तथा प्रवेशाज्ञा प्रतिबन्ध लगाउने अनि ल्हासामा अमेरिकालाई वाणिज्य दूतावास खोल्न दिन अनिवार्य बनाउने कुरा उल्लेख गरिएको छ ।
बेइजिङसँग सम्बन्ध विकसित गर्नका लागि तिब्बती गतिविधिलाई समर्थन गर्न छोडेको दशकौंपछि वाशिङटनको चित्त फर्केको देखिन्छ । तर भूराजनीतिक विश्व पूरै पल्टा खाएको कुरा वास्तविक हो ।
आधुनिक विश्वमा शीर्ष लामाको पुनर्जन्मको विषय महत्त्वपूर्ण छैन । तर दलाई लामा आफैंमा विशिष्ट व्यक्ति हुन् । चीनबाट पलायन भएर भारतमा निर्वासित जीवन बिताएका उनले चिनियाँ दमनविरुद्ध तिब्बती संघर्षको प्रतिनिधित्व गर्छन् । उनको व्यक्तित्व र सन्देश संसारभरि सुनिन्छ अनि बेइजिङले जतिसुकै प्रतिकार गरे पनि संसारका विभिन्न देशमा उनलाई अझै पनि स्वागत तथा सम्मान गरिन्छ ।
दलाई लामा आफैंले अहिंसक विधिले तिब्बती संघर्ष जारी राख्नुपर्ने स्पष्ट पारेका छन् अनि चीनबाट स्वतन्त्रता भन्दा पनि थप स्वायत्तता चाहेको बताउँदै आएका छन् । तर बेइजिङले यसलाई पत्याएको छैन र उनी पृथक्तावादी भएको बताउँदै आएको छ ।
उमेर ढल्किँदै जाँदा दलाई लामाले उत्तराधिकारका विषयमा चिन्ता व्यक्त गर्ने गरेका छन् । पुनर्जन्मको प्रक्रियालाई राजनीतिले अपहरण गर्ने हो कि भन्ने उनको चिन्ता छ । एकातर्फ उनले अब पटक्कै पुनर्जन्म नलिने हो कि भनी बताएका छन् । अर्कातर्फ उनले पुनर्जन्म प्रक्रियामा शंका वा छलछामको कुनै गुञ्जायस हुन नहुने इच्छा व्यक्त गरेका छन् । उनको यो भनाइ चिनियाँहरूप्रति लक्षित छ । चिनियाँहरूले अहिलेका दलाई लामा बितेपछि आफूले चाहेको उत्तराधिकारी राख्ने निश्चित छ ।
दलाई लामालाई चिनियाँहरूले कब्जा गरेमा पदको विश्वसनीयता गुम्ने डर लामालाई छ । उनले एक बयान जारी गरेर बताएका छन्, चिनियाँ कम्युनिस्टहरू पूर्वजन्म र पुनर्जन्मको अवधारणालाई नै स्वीकार गर्दैनन् अनि टुल्कुलाई नै मान्दैनन् भने यस्ता विषयमा उनीहरूले हस्तक्षेप गर्नै हुँदैन ।
चिनियाँहरू चाहिँ शीर्ष लामा नियुक्त गर्ने अन्तिम अधिकार आफूहरूसँग भएको अनि इतिहास र परम्पराले त्यसको अनुमति दिएको बताउँछन् । सन् २००७ मा चीनको धार्मिक मामिलासम्बन्धी प्रशासनले पुनर्जन्महरूलाई सरकारले स्वीकृति दिनुपर्ने अन्यथा तिनलाई वैधता नदिइने फरमान जारी गरेको थियो ।
त्यसअघि सन् १९९५ मा चिनियाँहरूले सुनौलो कलशबाट चिट्ठा थुतेर शीर्ष तिब्बती भिक्षुहरू पहिचान गर्ने चिङ राजवंशको रीतिरिवाजलाई पुनःस्थापना गरेका थिए । त्यसै वर्षको मे महिनामा चिनियाँ अधिकारीहरूले ६ वर्षीय बालक गेधुन चोकी नीमालाई १०औं पञ्चेन लामाको पुनर्जन्म भनी दलाई लामाले गरेको छनोटलाई बेवास्ता गरी उनको स्थानमा ग्यान्चेन नोर्बुलाई राखेका थिए । नीमा र उनको परिवार त्यसपछि बेपत्ता छन् ।
परम्परागत रूपमा दलाई लामा र पञ्चेन लामाले एकअर्काको गुरुको भूमिका निर्वाह गरेका छन् अनि दलाई लामाको छनोट तिब्बती परम्पराअनुसार नै गरिँदै आएको छ ।
तर चिनियाँहरूले १८औं शताब्दीको अन्त्यतिर मन्चु सम्राटको प्रेरणामा तिब्बती बौद्धधर्मका रिम्पोचे, लामा तथा अन्य शीर्ष अधिकारीलाई आधिकारिकता दिने प्रक्रिया थाले । चिङ सेनाले सातौं दलाई लामालाई आफ्नो अधिकार पुनःस्थापित गर्न र सन् १७२० मा चिनियाँ अधिकार विस्तार गर्न सहायता गरेपछि यी नियमहरू लागू गरिएका थिए ।
मन्चु कानूनअनुसार, दलाई र पञ्चेन लगायतका शीर्ष लामाहरूका उम्मेदवारको नाम ल्हासा र बेइजिङमा रहेका मन्दिरमा रहेका कलशमा राख्ने र चिट्ठा थुतेर उम्मेदवार छनोट गर्ने व्यवस्था छ । यसलाई यदाकदा उपयोग गरिएको भए पनि चिनियाँहरू यो तिब्बती बौद्धधर्मको स्थापित अभ्यास भएको बताउँदै आएका छन् ।
जनगणतन्त्र चीनले आफूलाई चीनको केन्द्रीय प्रशासनको उत्तराधिकारी भनी दाबी गर्ने गरेको छ । अनि उसले साम्राज्यवादी सीमामा मार्क्सवादी–लेनिनवादी राज्यले दाबी गर्ने वा आफ्ना पूर्ववर्तीहरूको साम्राज्यवादी संस्कृतिको दाबी गर्ने काममा कुनै विरोधाभास देखेको छैन । त्यसैले यस विषयमा चिनियाँहरूले दलाई लामा तथा चिनियाँ साम्राज्यहरूको सम्बन्धका विषयमा आफ्नै किसिमको व्याख्या गर्ने गरेका छन् ।
विगतको तीन दशकमा चिनियाँ र तिब्बतीहरूले सम्झौताको प्रयास गर्दै आएका छन् । तर सन् २००८ मा चीन विश्व व्यवस्थामा अग्रणी स्थान हासिल गर्दै जाँदा तिब्बतका विषयमा कठोर नीति अपनाउन थाल्यो र सबै सम्झौता रद्द गरिदियो ।
सन् २०१३ मा तिब्बत हेर्ने जिम्मेवारी पाएका पोलिटब्युरो स्थायी कमिटीका सदस्य यु चनसङले तिब्बतको स्वायत्तताका लागि दलाई लामाले गरेको आह्वान चिनियाँ संविधानविरुद्ध रहेको बताएका थिए । दलाई लामाले तिब्बत प्राचीनकालदेखि नै चीनको अभिन्न अंग रहेको भनी सार्वजनिक घोषणा गरेर तिब्बती स्वतन्त्रताको अडान छोड्न तयार भएमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीसँगको सम्बन्ध सुध्रिन सक्छ भनी बयान दिएका थिए ।
अहिलेको अवस्थामा तिब्बतमा चीनको नियन्त्रण सुदृढ छ । राष्ट्रपति सी चिनफिङको हालसालैको टिप्पणी हेर्ने हो भने चीनले तिब्बती बौद्धधर्मलाई चिनियाँकरण गर्न लागेको छ । त्यो भनेको के हो भन्ने स्पष्ट छैन ।
तर तिब्बतको शासनका विषयमा गरिएको बैठकमा सीले अधिकारीहरूलाई त्यहाँँ स्थिरता कायम गर्न र पृथक्तावादी शक्तिविरुद्ध संघर्ष गर्नका लागि अभेद्य किल्ला बनाउन आह्वान गरेका थिए ।
चिनियाँहरूले तिब्बती बौद्ध धर्मावलम्बीहरूलाई इच्छाइएको दिशामा लैजानका लागि पुनः शिक्षा अभियान र कार्यक्रम चलाउन थालेका छन् । सीको शासनमा चीनले बौद्ध, दाओवादी, क्रिस्चियन वा इस्लाम सबै धर्मले चिनियाँ कम्युनिस्ट पार्टीको मूल्यमान्यता अपनाउन जोड दिइरहेको छ ।
चीन र अमेरिकाबीच तनाव बढ्दै जाँदा नयाँ शीतयुद्धको राजनीतिको केन्द्रका रूपमा तिब्बत पुनः उदाउँदैछ । भारतले हालैका वर्षमा तिब्बत कार्ड खेल्न प्रयास गरेको छ र त्यसलाई प्रभावकारी रूपमा उपयोग गर्ने सामर्थ्य उससँग छैन । तर अमेरिका पूर्णतः फरक शक्ति हो अनि चिनियाँ र तिब्बतीहरूलाई यो कुरा थाहा छ ।
चीन र अमेरिकाबीचको प्रतिस्पर्धामा तिब्बतीहरूले भारी मूल्य चुकाउनुपरेको थियो । यसपालि उनीहरूको भाग्य कस्तो हुनेछ समयले बताउला ।
द प्रिन्टमा प्रकाशित मनोज जोशीको विश्लेषण