२२ असार २०८३, सोमबार

सहिद सप्ताहका कार्यक्रम शुरू

सहिद सप्ताहका कार्यक्रम शुरू

काठमाडौंको टेकु मचलीस्थित सहिद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । 

यस बर्ष सहिद सप्ताहका कार्यक्रमअन्तर्गत पहिलो दिन शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । 

शास्त्रीको श्रद्धाञ्जली सभा गरिएको यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण  सुरु गरेको हो । 

श्रद्धाञ्जली सभामा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउन बलिदानी दिने सहिदको योगदानका कारण नेपालमा गणतन्त्र आउन सकेको धारणा राखे । ‘उहाँहरुलाई शासकले चाहेको जति सम्पत्तिको प्रस्ताव गरेका थिए । तर, उहाँहरुले व्यक्तिगत लाभभन्दा नागरिकको स्वतन्त्रता र मानव अधिकारको पक्षलाई ठूलो मान्नुभयो । त्यसकोे लाभ अहिले हामी सबैले भोग गरिरहेका छौं,’ मेयर शाक्यले भने,‘सहिदहरुको योगदान चीरकालसम्म चर्चामा हुनेछ ।’

ज्ञान र शिक्षामार्फत शुक्रराज शास्त्रीले प्रजातन्त्र प्राप्तिका नागरिकलाई सहभागी गराउनु भएको थियो । श्रद्धाञ्जली सभामा बोल्दै आर्य समाजका सचिव कृष्णप्रसाद आर्यले भने,‘सहिदहरुले त्यो प्रतिकुल समयमा पनि खरो बोल्ने हिम्मत गरेकै कारण आज हरेक जनताले नागरिक अधिकार प्रयोग गर्न पाएका हुन् ।’  

श्रद्धाञ्जली सभामा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, वडाध्यक्षहरू, नगर कार्यपालिका सदस्य तथा वडा सदस्य, कर्मचारी र जनसाधारणको उपस्थिति थियो ।

शुक्रराजको जन्म वि. सं. १९५० सालमा बनासरमा भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरु गरेका शास्त्रीले इलाहवादकै आर्य समाज बिद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गरेका थिए । त्यस क्रममा उनले पटना, दार्जिलिङ्, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका बिषयमा संगठन गर्न थालिसकेका थिए । 

त्यसपछि नेपाल फर्कनु भएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेका थिए । यस समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि थिए । 

धार्मिक गतिबिधिबाट जहानियाँ शाशनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरुलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गरे । 

राणाको बिरोध गरेको यही आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो । 

१९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । 

पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । यसरी जेल सजायँ भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा  र धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो । त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानेर प्राणदण्ड दिइएको थियो ।  

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका ४ सहिदहरुको पूर्ण कदको शालिक उनीहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको २०७६ सालको श्रद्धाञ्जली सभामा स्थापना गरिएको हो । 

सहिद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गते सिफलमा सहिद धर्मभक्त ममथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा र माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ ।

माघ १६ गते शान्तिबाटिकाबाट प्रभात फेरी निकालेर सहिद स्मारक लैनचौर लगिनेछ । लैचचौरमा ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली सभा हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्