
देशका अन्य प्रदेशमा जस्तै लुम्बिनी पनि कोरोनाभाइरस (कोभिड- १९ ) विरूद्धको खोप अभियान शुरू भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अभियानको शुभारम्भ गरे ।
प्रदेशमा पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाए । अस्पतालका अरू १४ जनाभन्दा बढी स्वास्थ्यकर्मीले खोप लगाउँदैछन् ।
लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाका लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए।
त्यसमध्ये सबैभन्दा बढी रुपन्देहीका लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ । बाँकेको लागि १७ हजार ९० डोज उपलब्ध हुने छ।
त्यसैगरी दाङमा ६ हजार ५ सय ९०, कपिलवस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६०, अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप पठाइने छ।
नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मी ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० र राेल्पामा २ हजार ४ सय २० डोज कोरोना विरुद्धको खोप पठाउने सरकारको तयारी छ ।