
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नव नियुक्त प्रमुख आयुक्त प्रेम कुमार राई, आयुक्त किशोर कुमार सिलवाल र जय बहादुर चन्दले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदभार ग्रहण गरेका छन् ।
नवनियुक्त प्रमुख आयुक्त र आयुक्तहरूले पदभार ग्रहण गर्नु पूर्व उनीहरूलाई आयोग परिसरमा आयोगका सचिव सुरेश अधिकारीको नेतृत्वमा कर्मचारीहरुबाट पुष्पगुच्छासहित स्वागत गरिएको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
कार्यक्रममा निर्देशन सहितको आफ्नो मन्तव्य दिँदै राईले आयोगको साखलाई अझ उचाईमा पुर्याउन चुनौती पार गर्दै साझा जिम्मेवारी वहन गर्नुपर्ने कुरामा जोड दिए । उनले विगतमा आयोग तथा सार्वजनिक प्रशासनअन्तर्गत बिभिन्न निकायहरूमा कार्य गर्दाको अनुभवबाट नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरा ब्यक्त गरे ।
आम नेपाली जनता र नागरिक समाजको आयोग प्रतिको आकांक्षा, विश्वास र भरोसा उच्च रहेकोले आगामी दिनमा उक्त चाहना एवं भावना बमोजिम काम गर्ने चुनौती आयोगमा रहेको पनि उनले बताए ।
सो क्रममा आयोगकी आयुक्त सावित्री थापा गुरुङले नवनियुक्त प्रमुख आयुक्त र आयुक्तहरूलाई आयोगमा स्वागत गर्दै आयोग पूर्ण समावेशी भएको र आगामी दिनमा आयोग आफ्नो कार्यक्षेत्रमा अझ प्रभावकारी हुने विश्वास ब्यक्त गरिन् ।
यस्तै नवनियुक्त आयुक्त जय बहादुर चन्दले राज्यको भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणको लक्षमा टिम स्प्रिटमा साथ काम गर्नुपर्नेमा जोड दिए ।
यस्तै किशोर कुमार शिलवालले आयुक्तको रुपमा आफ्नो भूमिका समन्वयकारी रहने बताए ।







