
भारतले इंग्ल्यान्डविरुद्धको शृंखलाको दोस्रो टेस्टमा ३१७ रनको विजय हासिल गरेको छ ।
चेन्नईको एमए चिदम्बरम स्टेडियममा मंगलवार सम्पन्न टेस्टमा ४८२ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड जम्मा १६४ रन बनाउँदै अलआउट भयो ।
भारतको जीतमा रविचन्द्रन अश्विन नायक रहे । उनले पहिलो इनिङमा उत्कृष्ट बलिङ गर्दै पाँच विकेट हात पारे भने दोस्रो इनिङमा १०६ रन बनाएर भारतलाई मजबूत स्थितिमा पुर्याए ।
टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा रोहित शर्माको १६१ तथा अजिंक्य रहाणेको ६७ अनि ऋषभ पन्तको ५८ रनको योगदानमा ३२९ रन बनाएको थियो । इंग्ल्यान्डका लागि मोईन अलीले चार र ओल्ली स्टोनले तीन विकेट लिएका थिए ।
जवाफमा इंग्ल्यान्ड पहिलो इनिङमा जम्मा १३४ रनमा अलआउट भयो । सर्वाधिक स्कोर बेन फोक्सको ४२ रन रह्यो । भारतका लागि अश्विनले पाँच अनि इशान्त शर्मा र अक्षर पटेलले दुई दुई विकेट हात पारे ।
दोस्रो इनिङमा भारतले अश्विनको शतकका साथै कप्तान विराट कोहलीको ६२ रनको सहायताले २८६ रन बनायो । इंग्ल्यान्डका लागि मोईन अली र ज्याक लीचले चार–चार विकेट हात पारे ।
टर्निङ पिचमा ४८२ रनको कीर्तिमान लक्ष्य पछ्याउन इंग्ल्यान्डका लागि असम्भव नै थियो । अक्षर पटेलको स्पिन बलिङको सामना गर्न इंग्ल्यान्डका ब्याट्स्म्यानलाई हम्मेहम्मे पर्यो र उनीहरू लगालग आउट हुँदै गए ।
अश्विनले तीन विकेट हात पारे ।
पहिलो टेस्टमा इंग्ल्यान्ड २२७ रनले विजयी भएको थियो ।
तेस्रो टेस्ट अहमदाबादमा फागुन १२ गतेबाट शुरू हुँदैछ ।